कांग्रेस नेतृत्वमा सरकार गठनको प्रयास थाल्न देउवालाई पौडेल समूहको आग्रह
सरकार गठनको पहल थाल्न नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेल समूहल अनुमति दिएको छ
आज (शुक्रबार) विहान पार्टी महामन्त्री शशांक कोइराला निवासमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकमा आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास थाल्न सभापति देउवालाई आग्रह गर्ने निष्कर्ष निकालिएको हो ।
बैठकमा सहभागि कांग्रेस पूर्वपदाधिकारीले भने, ‘मुलुकमा कम्युनिष्टहरुको असफलताले व्यवस्था नै विफल हुने सन्देश गएकाले अब कांग्रेस चूप बस्न नहुने निष्कर्ष निकालिएको हो ।’
व्यव्स्थाविरुद्ध नै चलखेल गर्न थालिएकोले त्यसलाई रोक्न र लोकतन्त्र जोगाउनका लागि पनि कांग्रेस नेतृत्वमा सरकार बनाउनुको विकल्प नभएको निचोड बैठकमा निकालिएको उनको भनाइ थियो ।
सरकार गठनमा निर्णायक जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग भेट्नुअघि सभापति देउवासँग हुने पदाधिकारी बैठकमा आफ्नो समूहको यही निष्कर्ष राख्ने ती नेताको भनाइ छ ।
यसअघि पौडेल समूह, कांग्रेस सरकार बनाउने खेलमा लाग्न नहुने पक्षमा उभिएको थियो । पार्टी सरकार बनाउने दौडमा लाग्नुभन्दा महाधिवेशन सम्पन्न गर्ने र चाँडो निर्वाचनमा जानुपर्ने पक्षमा उक्त समूहका नेताहरुले मत राख्दै आएका थिए ।
अदालतको निर्णयबाट नेकपा खारेजीसँग एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी ओली जसपाको सहयोगमा सरकार टिकाउन लागि परिरहेका सन्दर्भमा कांग्रेस आफै पनि सरकार निर्माणको होडमा देखिन लागेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार बनाउँदै ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नुपर्ने प्रस्ताव नै राखिसकेका छन् ।
कांग्रेसले निर्णय नलिँदा दाहालको प्रस्तावमा छलफल अघि बढेको थिएन । जसपाले भने प्रधानमन्त्री ओली र कांग्रेस–माओवादी केन्द्रसँग समानान्तर छलफल चलाइरहेको छ ।