ओली र दाहाल अध्यक्ष रहेको ‘नेकपा’ निर्वाचन आयोगद्वारा खारेज {पत्रसहित}
सर्वोच्चको फैसलापछि निर्वाचन आयोगले नेपाल कम्युिनस्ट पार्टी (नेकपा) खारेज गरेको छ ।ओली र दाहाल अध्यक्ष रहेको नेकपा निर्वाचन आयोगले खारेज गरेको हो ।
फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) उत्प्रेषणको आदेशबाट बदर भएको बताउँदै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको विज्ञप्ति मार्फत जनाएको हो ।
दल खारेज सम्बन्धिको विषय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जानकारी दिने पनि आयोगले जनाएको छ ।
यस्तै,आयोगले सर्वोच्चको फैसला बमोजिम अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेको पनि ओली र दाहाललाई जानकारी दिने भएको छ ।
आयोगको पत्रसँगै अब संसद सचिवालयले छुट्टाछुट्टै दलका रूपमा एमाले र माओवादी नेताहरूको सिट व्यवस्थापन गर्नुपर्नेछ। उनीहरूको बस्ने ठाउँ फरक हुनेछ।
आयोगको बैठकले एमाले र माओवादी केन्द्र साविकको अवस्थामा रहेको जानकारी केन्द्रमा संघीय संसद सचिवालयसँगै प्रदेश सभा सचिवालयहरूमा पनि पठाउने निर्णय गरेको हो।
आयोगले राजपत्रमा पनि खारेजीको सूचना प्रकाशित गर्ने भएको छ।