निर्वाचन आयोगका ५ पूर्वप्रमुख आयुक्तको आग्रह : ‘नेकपाबारे यथाशीघ्र निर्णय देऊ’
मुलुक राजनीतिक अनिर्णयको बन्दी बन्न लागेको भन्दै पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हालसम्म नटुङ्गिएको स्थितिमा उनीहरुको यो प्रतिक्रिया आएको हो। आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिन उनहरुले अनुरोध गरेका हुन् ।
‘आयोग अनिर्णयको बन्दी बन्दा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गम्भीर्यता तथा आयोगको आफ्नो शाखमा पर्न सक्ने असरलाई विचार गरी प्रचलित कानून र स्थापित नजीरका आधारमा समेत यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोगसमक्ष आग्रह गर्दछौं’ उक्त वक्तव्यमा भनिएको छ ।
पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव र पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले संयुक्त वक्तव्य जारी गर्दै आयोगको निर्णय क्षमता र स्वायत्ततामा उठेको प्रश्नले आफूहरुलाई गम्भीर बनाएको धारणा अघि सारेका हुन् ।