Logo
१३ बैशाख २०८१, बिहीबार
(February 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भई संसदमा टेबल

प्रदेश सभा १ मा मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । प्रदेश १ को सातौं हिउँदे अधिवेशनको तेस्रो बैठकको दैनिक कार्यसूची अनुसार मुख्यमन्त्री शेरधन राईमाथि अविस्वासको प्रस्ताव पेश भई संसदमा टेबल भएको हो ।

सभामुख प्रदीपकुमार भण्डारीले नेपालको संविधान धारा १८८ (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १२९(१) बमोजिम दर्ता भएको अविश्वासको प्रस्ताव पेश गर्न प्रस्तावक सांसद् ईन्द्रबहादुर आङ्बोलाई समय दिएपछि सांसद् आङ्बोले अविस्वासको प्रस्ताव प्रदेश सभामा पेश गरेका छन् ।

सत्ता पक्षको उपस्थितिविना नै प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको हो । अविश्वासको प्रस्ताव पेश भएसँगै बैठक स्थगित भएको छ ।

आइतबार दिउँसोका लागि बोलाइएको बैठक दुई घण्टापछि बसेको थियो । सत्तारुढ नेकपाले बैठकमा सहभागी हुन नसकिने बताएपछि सभामुख भण्डारीले बैठक सुरु गरेका थिए ।

राईविरुद्ध प्रचण्ड-माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । संसदको आगामी बैठक २०७७ फागुन २० गते बिहीबार दिउँसो १ बजे बस्ने सभामुख भण्डारीले जानकारी गराए ।

ओली समूहले पार्टी विभाजनले कानूनी मान्यता नपाउँदासम्म अविश्वासको प्रस्तावमाथि छलफल गर्न नहुने अडान लिँदै आएको थियो ।

बैठक बस्ने भए संसदीय दलका नेता शेरधन राईले कारबाही गरेका १६ प्रदेशसभा सदस्यलाई बैठकमा सहभागी गराउन नहुने र अविश्वासको प्रस्ताव खारेज गर्नुपर्ने अडान राख्दै आएको थियो ।

तर आइतबार प्रदेशसभा बैठक बसेर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि उसको दुबै माग पूरा भएन । यससँगै ओली समूह सभामुख भण्डारीसँग रुष्ट बनेको छ ।

प्रदेशसभा बैठक राखेर सभामुखले विधि प्रक्रिया मिचेको ओली समूहका नेता तथा आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले बताए ।

सभामुख भण्डारीले आइतबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभाको बैठक रोक्न नसक्ने जानकारी गराए । राईले भने आफूहरुले १६ जना सांसदलाई निलम्बन गरेको भन्दै वैधानिकतासम्बन्धी प्रश्न उठाएकाले बैठक बस्न नमिल्ने बताए ।

तर सभामुख भण्डारी बैठक रोक्न तयार भएनन् । बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समूहका सांसदहरुले १२ पुसमा दर्ता गरेको अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।

बैठक बस्नु अघि सभामुख भण्डारीले प्रदेशसभामा भएका दलका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरे । तर ओली समूह छलफलमा आएन । ओली समूहका नेताहरु मुख्यमन्त्री कार्यालयमा छलफलमा थिए ।

प्रकाशित मिति: Feb 21, 2021

प्रतिक्रिया दिनुहोस्