Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दौरासुरुवाल लगाएर राजेश अहिराजले लिए सपथ, उपराष्ट्रपति र सभामुख गएनन्

प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका पत्रकार तथा विश्लेषक डा. राजेश झा ‘अहिराज’ले दौरासुरुवाल र भद्गाँउले कालो टोपी लगाएर सपथ लिएका छन् । अन्य बेला प्रायः सँधै कोर्टमा गम्छा भिर्ने अहिराजले सपथग्रहण भने दौरासुरुवाल लगाएर गरेका हुन् ।

शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित प्रदेश २ का प्रदेशप्रमुख झाको सपथ समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले भने बहिस्कार गरेका छन् ।

तर उक्त सपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना मात्र सहभागी थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुखबाट तिलक परियारलाई बर्खास्त गरी राजेश झालाई नियुक्त गरेकी थिइन् । झाले शुक्रबार नै सपथ लिएका हुन्।

संसद विघटन गर्ने सरकारको कदमप्रति उपराष्ट्रपति पुन र सभामुख सापकोटाले असहमति राख्दै आएका छन् ।

को हुन् डा.राजेश अहिराज ?

दुई दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारितामा सक्रिय डा.राजेश अहिराज एउटा प्रखर वक्ता, मधेश मामिलाका जानकार तथा राजनीतिक विश्लेषक रुपमा परिचित हुनुहुन्छ ।

उहाँले ‘मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधि गर्नुभएको छ ।

नेपाली राजनीतिबारे सूक्ष्म अध्ययन गर्नुभएका डा.अहिराजले गर्दै आउनुभएको विश्लेषणात्मक विचार राष्ट्र र राष्ट्रियताप्रति ओतप्रोत भएको देखिन्छ ।

उहाँले विभिन्न पुरस्कार, सम्मानपत्र तथा नेपाल विद्याभूषण ‘क’ बाट विभूषित भइसक्नुभएको छ । नेपाली राष्ट्रियता तथा राष्ट्रवादको वकालत गर्दै उहाँले नेपालमा समतामूलक समाज निर्माणको पक्षमा छलफल तथा बहस गर्दै आउनुभएको छ ।

डा.अहिराजको जन्म रौतहट जिल्लाको तत्कालीन संग्रामपुर गाउँपालिका वडा नं. ४ (हाल गढीमाई नगरपालिका–४) मा वि.सं. २०३६ जेष्ठ ६ गते भएको थियो । उहाँको पिता स्व.नरेन्द्र झा र माता मालतीदेवी झा हुनुहुन्छ ।

अध्ययनः

डा.अहिराजले माध्यमिक तहको शिक्षा श्रीमती कृष्णादेवी माध्यमिक विद्यालय विष्णुपुर, रौतहटबाट सन् १९९५ मा पूरा गर्नुभएको छ । यसैगरी बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिल भारतको एसएलके कलेज सितामढीबाट सन् १९९७ मा एससी उत्तीर्ण गर्नुभएको छ ।

यस्तै, त्रिचन्द्र कलेज काठमाडौंबाट सन् २००५ मा बी.ए. (सोसियोलोजी एजण्ड कल्चर), युनिभर्सिटी क्याम्पस काठमाडौंबाट सन् २००६ मा बी.एड (पोलिटिकल साइन्स एण्ड हिस्ट्री), नेपाल ल क्याम्पसबाट सन् २००९ मा एल.एल.बी. पूरा गर्नुभएको छ ।

त्यसैगरी, ‘मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट सन् २०१५ मा विद्यावारिधि गर्नुभएको छ ।

पुरस्कार तथा सम्मानः

उहाँलाई नेपाल सरकारद्वारा संविधान दिवसको अवसरमा वि.सं. २०७७ असोज ३ गते ‘प्रवल जनसेवाश्री’ सम्मानित गरेको छ । यस्तै, प्रधानसेनापतिबाट ‘प्रधानसेनापति पदक-२०७६’ पुरस्कार, राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ‘राष्ट्रिय पत्रकारिता पुरस्कार- २०७४’ पुरस्कार, नेपाल विद्याभूषण-२०७४, प्रेस काउन्सिल पुरस्कार–२०७३ लगायत एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मानपत्र प्राप्त गर्नुभएको छ ।

यसैगरी पत्रकारिता क्षेत्रमा उहाँले एक दर्जनभन्दा बढी विषयगत विभिन्न तालिमहरु प्राप्त गर्नुभएको छ भने विभिन्न विषयहरुमा प्रशिक्षकको रुपमा समेत भूमिका निर्वाह गरिसक्नुभएको छ ।

प्रकाशित मिति: Feb 19, 2021

प्रतिक्रिया दिनुहोस्