निर्वाचन आयोगलाई नेकपाको आधिकारिता र सूर्य चिन्हबारे छिटो निर्णय गर्न देउवाको आग्रह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विरोधमा बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा बैधानिकताबारे छिटो टुङगो लगाउन आग्रह गरेका छन् ।
देउवालेनेकपा बैधानिकताबारे अहिलेसम्म निर्णय नगर्नुको कारण आयोगले निर्वाचन गराउनै नचाहेको त होइन भन्ने आशंका व्यक्त गरेका छन् ।
सूर्य चुनाव चिन्ह एउटै रहको भन्दै देउवाले प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आग्रह गरे । सूर्य चिन्ह नपाए ओलीले चुनाव नगराउने उनको आशंका छ ।
साथै उनले नेकपाको विवादबारे निर्णय नगरेको भन्दै आयोगको आलोचना गरेका छन् । कांग्रेस सभापति देउवाले अघि भने, ‘किन कार्यकालिका किन प्रकाशित गर्दैन ? चुनाव चिन्हको झगडा छ, किन चुनाव चिन्ह दिँदैन निर्वाचन आयोगले ?’
उनले भने, ‘अदालतले संसद् फिर्ता गर्छ भने पनि हामीलाई ठीक छ, चुनाव गर भन्छ भने पनि ठीक छ ।’
निर्वाचनको तयारी गर्न अदालतको निर्णय कुर्नु नपर्ने उनले बताए । यदि अदालतको निर्णय चुनाव नगराउने आयो भने (तयारी) बन्द गरे भइहाल्यो भन्दै उनले भने, ‘निर्वाचन आयोगले जनतालाई भन्नुपर्यो, ६ महिनाभित्र चुनाव गराएरै छाड्छु ।’
नेकपाको बैधानिकताबारे निर्णय नगरेकोतर्फ संकेत गर्दै निर्वाचन आयोगको आलोचना गरे । प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र चुनाव भइसक्नुपर्ने भन्दै कांग्रेस सभापति देउवाले भने, ‘निर्वाचन आयोगलाई मतलब नै छैन । यो निर्वाचन आयोगलाई म यहीँबाट भन्न चाहन्छु, प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ ।’
उनले अघि भने, ‘ओलीले वैशाखसम्म चुनाव गराउँछु भनेका छन्। निर्वाचन आयोगले किन भन्दैन ? निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ ।’