राजनीति प्रदुषित हुने बाटोतिर जान नदिन संसद् विघटन गरेको हुँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिको साँठगाँठबाट राष्ट्रिय राजनीति प्रदुषित हुने बाटोतिर जान नदिन आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।
सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाई समितिमा अड्काउने काम भएको भन्दै उनले भने, ‘अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भयो ।’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न भएको सिंहदरवारको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको तीन वर्षे उपलब्धिबारे चर्चा गरेका छन् ।
उनले सरकारको मुख्य उपलब्धिबारे चर्चा गर्नुअघि प्रतिनिधिसभा विघटन गर्नुको कारणबारे प्रकाश पारेका थिए ।उनले पार्टीभित्रबाट आफूलाई असहयोग भएपछि प्रतिनिधिसभा विघटन गरिएको जिकिर गरे ।
उनले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुअघि ६४ प्रतिशत सांसदको समर्थन प्राप्त प्रधानमन्त्री भएको नाताले आफूले वैकल्पिक सरकार गठनको सम्भावना नदेखी प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए ।
सुरुदेखि नै सरकार सञ्चालनमा केही अप्ठ्यारा थिए, काममा व्यवधान खडा गरिएको थियो,’ उनले भने, ‘पछिल्ला एक वर्षदेखि झण्डै दुई तिहाई सांसदको समर्थन प्राप्त सरकारले विभिन्न दलीय गठबन्धनको सरकारको जस्तो नियति व्यहोर्नु पर्यो ।’
उनले एक वर्षदेखि संवैधानिक निकायहरु पदाधिकारीविहीन रहेको, संसदमा पेश भएका कयौं विधेयक छलफलमा नलगिएको गुनासोसमेत गरे ।
उनले आफूविरुद्ध संसदीय दलमा वा संसदीय दलको उपनेतासमक्ष समेत कुनै उजुरी नभएको दावी गरे ।