राष्ट्रपति सन्की प्रधानमन्त्री ओलीको प्यादा बनेको रामकुमारीको आरोप
नेकपा दाहाल-नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आरोप लगाएकी छन् ।
संसद् विघटनको विरोधमा दाहाल -नेपाल समुहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा नेतृ झाँक्रीले कुनै पनि व्यक्ति निर्वाचन प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बन्छ र एउटा प्यादा बन्छ भन्ने त्यस्ता पात्रविरुद्ध बोल्न पाइन्छ भनेकी छन् । उनले भनिन् ‘एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचिया भनेर ?’
नेतृ झाँक्रीले राष्ट्रपति जस्तो सम्माननीय संस्था आफूहरुको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताइन् ।
उनले अघि भनिन् ‘महिला अस्मिता त त्यतिबेला बलात्कृत भएको छ, जतिबेला निर्मला पन्त, भागरथी भट्ट जस्ता किशोरीहरु बलात्कृत भएका छन्, उनीहरुको हत्या भएको छ’ ।
अखिल नेपाल महिला संघलाई विद्या भण्डारीले १८ वर्षसम्म प्राइभेट कम्पनी बनाएको र त्यसका सदस्यहरुले महिला अस्मिताको प्रश्न उठाएको भन्दै उनले अघि भनिन्, ‘मलाई जन्न मन छ, भागरथीहरुका हत्याराहरुलाई कारबाही गर भनेर गृह मन्त्रालय पुगे कि पुगेनन्?’
नेता झाँक्रीले प्रधानमन्त्री ओली कागजी बादशाह भएको बताइन् । बादशाहहरु कमजोर बन्दै गएपछि कागजका अग्ला कदका बुख्याँचा बनाउने भन्दै उनले भने, ‘खड्गप्रसाद ओली कागजी बादशाह हुन्, ती ढलिसके, घोषणा हुन मात्र बाँकी छ ।’
आफूहरुले व्यक्तिको नभई ओली प्रवृत्तिको विरोध गरेको भन्दै उनले पार्टीमा आगामी दिनमा यस्तो प्रवृत्ति जन्म हुने नदिने प्रतिवद्धता जनाउन नेताहरुलाई आग्रहसमेत गरिन् ।