Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात शुरु

बागमती प्रदेश स्थित सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका-१ को किमाथाङ्कामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

भोटखोलाको सो क्षेत्रमा शनिबारदेखि आजसम्म हिमपात भइरहेको कारण किमाथाङ्का र उत्तरी क्षेत्र चीनको देनडाङ क्षेत्रमा भएको बाक्लो हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको किमाथाङ्कास्थित सीमा प्रहरी चौकीले जानकारी दिएको छ ।

शनिबार रातिदेखि शुरु भएको हिमपातले दुई फिट माथिसम्म थुप्रिएपछि स्थानीयवासीको जनजीवन कष्टकर बनेको र पशु चौपायालाई समेत सास्ती भएको भोटखोला गाउँपालिका-१ का वडाध्यक्ष तेनछेवी भोटेले जानकारी दिए ।

उनका अनुसार चार दिनदेखि पशु चौपायालाई चराउन र अन्य घर बाहिरको कामकाज गर्नसमेत कठिनाइ भएको छ ।पाँच महिना अघिबाट यस क्षेत्रमा हिमपात नभइरहेको बेला यस वर्षको पहिलो पटक चार दिन अघिबाट हिमपात शुरु भएपछि सो क्षेत्रको छेसुम्बा, गुम्बालगायतका डाँडामा सेताम्य हिउँ परेको देखिन्छ ।

यसरी नै सङ्खुवासभाकै मकालु हिमालको आसपास क्षेत्र माङ्सिमा, सेदुवा, हटिया, चेपुवालगायतका क्षेत्रमा चिसो बढेसँगै आकस्मिक हिमपात भएको मकालु गाउँपालिकाका विमन पराजुलीले जानकारी दिए ।

यता जिल्लाको दक्षिणी क्षेत्रको धर्मदेवीको टुटे देउराली, तीनजुरे, चैनपुर नूनढाकीको गुफापोखरी र मिल्के जलजले क्षेत्रमा समेत हिमपात भएको चैनपुर-१ गुफापोखरीका स्थानीयवासी हिमा खनालले जानकारी दिए ।

पर्यटकीय गन्तव्य बन्दै आएको चैनपुरको गुफापोखरी क्षेत्रमा चिसोको प्रवाह नगरी हिमपात क्षेत्रमा हिउँ खेल्नका लागि आसपास क्षेत्रबाट आन्तरिक पर्यटकको चहलपहल शुरु भएको खनालले जानकारी दिए ।

प्रकाशित मिति: Feb 10, 2021

प्रतिक्रिया दिनुहोस्