आयोगले निर्वाचन सामग्री खरिदका लागि टेण्डर आह्वान गर्दै
संसद् विघटनसँगै तोकिएको मितिमै चु्नाव गराउनका लागि आवश्यक पर्ने सामग्री खरिदका लागि निवाएचन आयोगले टेण्डर आह्वानको तयारी गरेको छ ।
संसद् विघटनसँगै तोकिएको मितिमै चुनाव गराउने तयारीसहित आयोग लागिपरेको र आवश्यक सामग्री खरिदका लागि टेण्डर आह्वान गर्न लागिएको आयोगको भनाइ छ ।
सम्भवतः आज टेण्डर आह्वान गर्ने तयारी भैरहेको आयोगको उच्च स्रोतले बताएको छ ।हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा पनि आयोगका पदाधिकारीले तोकिएकै समयमा चुनाव गराउने प्रतिवद्धता जनाएका थिए ।
संसद् विघटनविरुद्ध परेको रिटबारे सर्वोच्चको फैसला नआइसकेको र नेकपाभित्रको विवाद समाधान नभैसकेको अवस्थामा आयोगले चुनावी तयारीलाई तिब्रता दिएको हो ।
यस्तै आयोगले चुनावको आचारसंहिता तयार गरिसकेको छ भने सबै राजनीतिक दलसँग छलफल गरेर चुनाव प्रयोजनका लागि दल दर्ता प्रक्रिया सुरु गर्ने तयारी गर्दैछ ।
प्रतिनिधि सभा विघटनसँगै आउँदो वैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनाव घोषणा भएको छ । पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरण २७ गते ३७ जिल्लामा चुनाव गराउने सरकारको तयारी रहेको छ ।
वैशाख १७ गते कर्णाली, लुम्बिनी, प्रदेश २, गण्डकीका ४० जिल्लामा तथा दोस्रो चरणमा सुदूरपश्चिम, वाग्मती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने सरकारले निर्णय गरेको छ । सरकार र निर्वाचन आयोगले तयारी भैरहेको भने पनि चुनावबारेको अन्योल भने कायमै छ ।