दाहाल-नेपाल समूहको आज काठमाडौंमा बृहत् शक्ति प्रदर्शन, २ लाख बढी सहभागी हुने दाबी
नेकपा दाहाल नेपाल समूहले आज काठमाडौंमा बृहत शक्ति प्रदर्शन् गर्दै छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि लगातार सडक आन्दोलन गर्दै आएको यो समूहले आज बृहत् प्रदर्शन र सभा हुने दावी गरेको छ ।
दाहाल-नेपाल समूहको आजको प्रदर्शनमा विभिन्न ५ ठाउँबाट जुलुस निस्कनेछ । पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी दिएको छ ।
हरेक जुलुसको नेतृत्व शीर्ष नेताहरुले गर्ने छन् । यस्तै विरोधसभाअघिको प्रमुख जुलुस सुनधाराबाट सुरु हुनेछ र सबै एकसाथ भृकुटीमण्डप गएर सभामा परिणत हुनेछ । एकीकृत जुलुसको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले गर्ने जनाइएको छ ।
आजको विरोधसभामा २ लाखभन्दा बढी मानिस सहभागी हुने सो समूहको दाबी छ ।गत माघ २३ गते नेकपा ओली समूहले गरेको शक्ति प्रदर्शनको जवाफ दिने भनेपनि दाहाल-नेपाल समूहले त्यसअघि नैं आजको कार्यक्रम घोषणा गरिसकेको थियो ।
दाहालनेपाल समुहले समूहले आज रत्नपार्क–भद्रकाली सडक खण्डको मूल सडक नै थुनेर सभा गर्न लागेपछि टुँडीखेल वरपर सबै क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनेछ ।
ट्राफिक प्रहरी महाशाखाले आज विभिन्न ठाउँबाट ¥याली, जुलुस र आमसभा हुने भएकोले बैकल्पिक मार्ग प्रयोग सझाव दिएको छ ।
दलहरुले लगातार मुख्य शहरमा प्रदर्शन गर्न थालेपछि व्यावसायी तथा सर्वसाधारणले भने सास्ती खेप्न थालेका छन् । हालै प्रधानमन्त्री केपी ओलीले पनि दरबारमार्गमा सभा गरेका थिए ।