मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको ‘जू’ मा बन्द गरिनेछ : गृहमन्त्री
नेकपा ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा बन्द गरीने चेतावनी दिएका छन् ।
ओली पक्षको आज आयोजित आमसभामा बोल्दै थापाले मांसाहारी आन्दोलन नेपालको कानून र संविधानले अपराध घोषित गरेको बताए ।
बादलले भने, ‘मांसाहारी आन्दोलनबाट नेतृत्वलाई अपदस्थ गर्ने घोषणा गरेका छन् । म उनीहरुलाई भन्न चाहन्छु मांशाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको ‘जू’ मा लगेर बन्द गरिनेछ ।’
आफ्नो सम्बोधनका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई विस्थापित गर्न षडयन्त्र भएपछि चुनावमा जानुपरेको बताए ।
प्रचण्डले केहीदिन अघि भाषणमा शाकाहारी आन्दोलनबाट पार नलागेको भन्दै मांसाहारी आन्दोलनमा जानुपर्ने बताएका थिए । त्यसैलाई बादलले जवाफ दिएका हुन् ।
चुनाव पनि आन्दोलनको एउटा रूप भएको उनको भनाइ रहेको छ ।