ओली विचलित अवस्थामा भएकाले सन्किएर जे पनि बोल्छन् : प्रचण्ड
नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओली विचलित अवस्थामा भएकाले सन्किएर जे पनि बोल्न सक्ने बताएका छन् ।
शुक्रबार नेकपा ओली समूहले गरेको आमसभामा ओली सन्कीएपछि जे पनि बोल्न सक्ने भन्दै दाहालले ओली विचलित अवस्थामा भएको बताएका हुन् ।
ओली समूहको बृहत आमसभा शुक्रबार नारायणहिटी दरबार अगाडि राखिएको छ । पछिल्लो समय धर्मप्रति निकै आशक्त देखिएका ओलीले हिन्दुराष्ट्र र राजतन्त्रका विषयमा सांकेतिक रुपमा विभिन्न कामहरु गर्दै आएको छ ।
ईमेज टेलिभिजनसँग कुरा गर्दै दाहालले विभिन्न फण्डाहरु बोल्दै आएका प्रधानमन्त्री ओली सकारात्मक कुरा गर्नै नसक्ने ठोकुवा गर्दै केही न केही बोल्ने बताएका हुन् ।
पशुपति गएर पूजा आराधना गरेको र नारायणहिटी अगाडि आमसभा गर्न लागेको कुराले उनी निकै आलोचित भए ।
प्रधानमन्त्री ओली अझै निरंकुश र लोकतन्त्रको हत्या गर्न उद्दत रहेको दाहालको आरोप छ । ओलीको नियति पुरैका पुरै नसकिदासम्म उल्टै बाटो हिडिराख्ने उनको दावी छ ।
पार्टी एकताको प्रसंगमा दाहालले अब कुनै पनि हालतमा पार्टी एकता नहुने बताएका छन् । जुन दिनसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय सच्याउनु हुन्न तबसम्म एकता सम्भव नभएको उनले बताए ।
वामदेव गौतमले पार्टी एकता गर्न पहल गरिरहेको बारे सञ्चारकर्मीसँग दाहालले वामदेवसँग एकता भएपनि ओलीसँग कुनै पनि हालतमा एकता नहुने ठोकुवा गरे ।
अध्यक्ष दाहालले फागुनको पहिलो हप्ताबाट लोकतन्त्रको रक्षाका लागि सबै प्रतिनिधिसभा विघटनको विरोध गरिरहेका पार्टीहरु संयुक्त आन्दोलनमा जाने बताए ।
निरंकुशतालाई सदाको निम्ति बिदा गर्न पनि ठूलो जनआन्दोलन आवश्यक भएको उनको तर्क छ ।