सबै लोकतन्त्रविरोधी र निरंकुशतालाई हटाउन फागुनमा संयुक्त आन्दोलन हुन्छ : प्रचण्ड
नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै लोकतन्त्रविरोधी र निरंकुशतालाई हटाउन फागुनको पहिलो सातामा संयुक्त आन्दोलन हुन्छ भनेका छन् ।
साथै उनले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त जनआन्दोलन हुने र त्यो आन्दोलन अहिलेसम्मकै ठूलो हुने छ र सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्छ भनेका छन् ।
आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताए । सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उनले बताए ।
उनले अघि भने, ‘हाम्रो सबैसँग कुरा भइरहेको छ । सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्छ ।’
संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोकमा पुगेर नाराबाजी गरेका छन् ।
उनले यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै भने, ‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’
संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको भन्दै प्रचण्डले अब अझ सशक्त आन्दोलन हुने बताए ।