नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगले टुंग्याइसक्यो : सुवास नेम्वाङ
नेकपाको ओली पक्षका नेता सुवास नेम्वाङले नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगले टुंगाइसकेको बताएका छन् ।
निर्वाचन आयोगले शुक्रबार नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । तर, दाहाल-नेपाल समूहले छलफलका लागि थप समय मागेपछि आयोगले ओली समूहका नेताहरुसँग मात्रै छलफल गरेको थियो । उक्त छलफलमा दल दर्ता र निर्वाचनका बारेमा मात्रै छलफल भएको नेम्वाङले जानकारी दिए ।
ओली समूहका नेता विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेताहरुले भने आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।
नेम्वाङले भने, ‘आधिकारिताबारे आयोगले टुंगो लगाइसकेको छ । त्यसैअनुसार अगाडि बढेका छौं । केही साथीहरुलाई हामी आधिकारिक हौं भन्ने लागेको छ । अब दल दर्ताको प्रक्रियामा जानुपर्छ, निर्वाचनबाट सबै टुंगो हुन्छ ।’
‘नेम्वाङले सञ्चारकर्मीसँग कुरा गर्दै भने ‘दल दर्ता अगाडि बढाउनुस्, हामी प्रामिकता दिएर सहयोग गर्छौं भनेका छौं,’ नेम्वाङले भने, ‘आयागले पनि सर्वोच्चले अन्यथा आदेश नगरेमा तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध छौं भनेको छ ।’
सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने नेताहरुले बताए ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दुवै पक्षले विवरण हेरफेरका लागि गरेको आग्रहलाई अस्वीकार गरिसकेको छ । दुवै पक्षलाई त्यसको जानकारीसमेत पठाएको थियो ।
विवाद बढेपछि दुवै पक्षले अलग-अलग ढंगले केन्द्रीय समितिको बैठक बसेर गरेका निर्णयहरू आयोगले स्वीकार नगरेपछि नेकपा औपचारिक रूपमा फुटेको मानिएको छैन ।