Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

“माउन्ट एभरेष्ट” भारतले दाबी गर्नुपर्छ भन्दै जी न्यूजमा पुनः आपत्तिजनक रिपोर्ट प्रसारण

 नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी भारतीय न्यूज च्यानल जी न्यूजले पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ ।

भारतीय टेलिभिजन नेटवर्क जी मिडियाको हिन्दी न्युज च्यानल जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम माउन्ट सिकदर राखिनु पर्ने बताएको छ ।

जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको हो ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण गरेको भारतीय टेलिभिजन च्यानल जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथालाई भारतीय नाम माउन्ट सिकदर दिने अभियान थालेको हो ।

मंगलबार बेलुका जी न्यूजले सगरमाथामा भारतीय आफ्नो दाबी प्रस्तुत गर्नु पर्ने टिप्पणी सहितको सामग्री प्रशारण गरेको हो ।

जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’ उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने समेत बताएका छन् ।

सरगमाथाले भारतीयलाई राष्ट्रवादको नयाँ उचाइमा लैजाने दाबी चौधरीले गरेका छन् । भारतीयले सगरमाथाको अवलोकन गर्नु पर्ने र त्यसले राष्ट्रवादको अलग भाव आउने उनले उल्लेख गरेका छन् ।

चौधरीसहितको टोली हेलिकप्टरमा सगरमाथाको अवलोकनका लागि गएको हो । उनले भनेका छन्, ‘माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ भन्ने अभियान हामी आजदेखि सुरू गर्छौँ। हाम्रो यो यात्रा त्यही अभियानको एउटा महत्वपूर्ण हिस्सा हो ।

संसारलाई सगरमाथाको उचाइ पहिलोपटक बताउने राधाकृष्ण सिकदरलाई अहिलेसम्म जस दिइएको छैन। अब भारतले आफ्नो यो दाबा ठोक्नुपर्छ ।’

उनले जी न्यूजको अभियानमा सोमेल हुन र आफ्नो तर्फबाट सामाजिक सञ्जालमार्फत सगरमाथाको नाम परिवर्तनको अभियान चलाउन दर्शकलाई आह्वान समेत गरेका छन् ।

चौधरीका अनुसार राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेका थिए । त्यसैले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने चौधरीको धारणा छ ।

चौधरी तिनै व्यक्ति हुन् जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा बोलाएर अन्तर्वार्ता दिएका थिए ।

 

प्रकाशित मिति: Jan 13, 2021

प्रतिक्रिया दिनुहोस्