Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनको घोषणा जनताको ध्यान भड्काउन फालिएको तुरुप मात्रै हो : उपेन्द्र यादव

जसपाका अध्यक्ष उपेन्द्र यादवले मध्यावधि निर्वाचनको घोषणा जनताको ध्यान भड्काउन फालिएको तुरुप मात्रै भएको बताएका छन् ।

वीरगञ्जमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘निर्वाचनको घोषणा गरिसकेपछि सरकार काम चलाउ हुन्छ, तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ ठान्नु भएको छैन, सरकार विस्तार गर्नुभएको छ । निर्वाचनको नाममा एउटा तुरुप मात्रै फाल्या हो, निर्वाचनतिर सबैको ध्यान जान्छ, आफूले चालेको असंवैधानिक कार्य, गैरलोकतान्त्रिक कार्य अघि बढाउन सकिन्छ भनेर मात्रै हो । उहाँको नेतृत्वमा हुने चुनावको विश्वसनीयता र निष्पक्षता पनि सम्भव छैन ।’

प्रधानमन्त्रीको साथमा प्रतिगमनकारी शक्तिहरु, संघीयता र लोकतन्त्र विरोधी शक्तिहरुको अघोषित संयुक्त मोर्चा रहेको दाबी उनले गरे ।‘यही बेलामा पुराना शक्तिहरु, निरंकुशकालीन शक्तिहरु मौकामा चौका हान्न पाइन्छ कि भनेर उफ्री रहेका छन्,’

उनले भने, ‘नेपाली जनता २०१७ सालको अवस्थामा हैन, २०७७ सालमा छन् । चेतना र लोकतान्त्रिक भावनाबाट ओतप्रोत छन् । निश्चितरुपमा कमी कमजोरी अरुमा पनि हुन सक्छ । त्यसको मतलब लोकतन्त्रलाई समाप्त पारेर निरंकुश तन्त्र ल्याउने हैन ।’

प्रधानमन्त्रीको सिफारिसमा भएको असंवैधानिक कदमलाई सच्याउनु नै तत्कालिन समस्याको समाधान भएको उनको तर्क छ ।

प्रकाशित मिति: Jan 12, 2021

प्रतिक्रिया दिनुहोस्