Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरमा जसपाको शक्तिप्रदर्शन : संयुक्त रुपमा संघर्षको प्रस्ताव (फोटोफिचर)

प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलित रहेका जनता समाजवादी पार्टीले शनिबार प्रदेश स्थित राजधानी विराटनगरमा शक्ति प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री ओलीको कदाको विरोधमा यसअघि नेकपा प्रचण्ड-माधव समूह र नेपाली कांग्रेसले विराटनगरमा गरेको विरोध प्रदर्शनको तुलनामा जसपाको प्रदर्शनमा जनसहभागिता निकै देखिएको थियो ।

विरोध र्यालीपछि आयोजित विरोध सभालाई सम्बोधन गदै जसपाका शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम सच्याउन सडक संघर्षको विकल्प नभएको बताए । त्यसका लागि आन्दोलनरत सबै दलको मोर्चाबन्दी बनाउनुपर्ने धारणा पनि नेताहरुले राखेका थिए ।

खासगरी प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई संघर्षका कार्यक्रममा सहकार्यका लागि जसपाका नेताहरुले प्रस्ताव गरेका थिए । तर कांग्रेसका सभापति शेरबहादुर देउवा ओलीको ललिपपमा लोभिने हुन कि भन्ने आशंका पनि उनीहरुले गरेका छन् ।

प्रजातन्त्रको लागि लामो संघर्ष गरेको नेपाली कांग्रेस ओलीप्रतिको मोहले अलमलमा परेको जसपाका नेताहरुले बताएका थिए ।

विरोध सभालाई सम्बोधन गर्दे जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले कांग्रेसहित सबै पार्टीसँग सहकार्य गरेर संसद पुनस्र्थापनाको लागि संघर्ष गर्नुपर्ने बताए । संविधानको मर्म विपरित तानाशाही प्रवृतिले प्रतिनिधिसभा विघटन गरेपनि कांग्रेस नेतृत्व मौन रहेको उनले आरोप लगाए ।

कांग्रेसको नेतृत्व ओली मोहमा फसेको छ उनले भने –‘केहीले मात्र ओली प्रवृतिको विरोधमा सडकमा आएका छन् ।

संविधानमा कतै नभएको अधिकार प्रयोग गरेर भंग गरिएको प्रतिनिधिसभा पुनस्र्थापना नभएर संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने भएकाले सवै एक भएर संघर्ष गर्नुपर्ने बेला भएको उनले सुनाए । उनले ओली सरकार महेन्द्रपथमा हिंडेकाले पतन नजिकै रहेको दावी गरे ।

पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले संसद विघटन भएपनि कांग्रेसमा ओली मोहले गर्दा विरोध गर्न हिचकिचाई रहेको आरोप लगाए ।

‘लोकतन्त्रको दुहाई दिने कांग्रेस संविधानको हत्या गरी कोमामा पुर्याए पनि सलबलाएको छैन’ यादवले भने –‘कांग्रेसले बीपीको स्मरण गर्ने बेला आएको छ ।’ उनले सहकार्य गरेर संयुक्त संघर्ष गर्न कांग्रेसलाई आग्रह गरेका छन् ।

ओली सरकार भ्रष्टचारमा लिप्त भएका कारण कोरोनाको महामारीमा जनताले धेरै दुख पाएको अध्यक्ष यादवको आरोप थियो ।

पार्टीको केन्द्रीय सदस्य एवं राष्टियसभा सदस्य मृगेन्द्रसिंह यादवले ओलीको असंवैधानिक निर्णयलाई जनताले स्वीकार नगर्ने र बहिष्कार गर्ने बताए । प्रदेशसभा सदस्य जयराम यादवले असंवैधानिक निर्णयलाई सच्याउन निरन्तर सडकवाट खवरदारी गर्नुपर्ने बताए ।

कांग्रेसको पनि विरोध प्रदर्शन
प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेसले शनिबार देशव्यापी विरोधसभा गरेको छ ।

लोकतन्त्रलाई नै धरापमा पार्ने गरी गरिएको संसद विघटन गरिएको भन्दै विरोधमा कांग्रेसले क्षेत्रीयस्तरमा विरोध सभाको आयोजना गरेको हो ।

विराटनगरको बुधहाटचोक, हाटखोला, हटतालीहाट लगायतका जिल्लाका सबै प्रदेश निर्वाचन क्षेत्रमा विरोधसभाहरु गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: Jan 10, 2021

प्रतिक्रिया दिनुहोस्