बदलिदो राजनीतिक परिस्थितिमा राष्ट्रियसभा बैठक : ओलीका पक्षमा कति सांसद ?
संघीय संसदको तल्लो सदन अर्थात प्रतिनिधि सभाको बिघठन सँगै देशको बदलिदो राजनीतिक परिस्थितिमा राष्ट्रिय सभा बैठक सुरु भएको छ । यद्यपी राष्ट्रिय सभामा सरकारलाई विधेयक पास गर्नै गाह्रो पर्ने भएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि ओली समूहलाई विधेयक पास गर्न आवश्यक संख्या राष्ट्रिय सभामा नपुग्ने भएकाले सरकारले राष्ट्रियसभामा बहुमत गुमाएको अवस्था देखिन्छ ।
राष्ट्रिय सभामा ५९ जना सदस्य रहन्छन् । यसमा कांग्रेसका ६ जना छन् । जसपाका तीनजना सदस्य छन् । त्यसैगरी मनोनित सांसद तीनजना छन् । अध्यक्ष र उपाध्यक्षलाई समेत जोड्दा राष्ट्रिय सभामा नेकपाका ४७ जना सदस्य छन् ।
मनोनित तीनजना पनि नेकपाबाटै गएका हुन् । यसरी हेर्दा नेकपाका सदस्य ५० पुग्छन् । ५० मा ओली समूहका २५ र प्रचण्ड–नेपाल समूहका २५ जना छन् ।
राष्ट्रियसभामा सामान्य बहुमतका लागि ३० सांसद भए पुग्छ । तर, यो संख्या पनि ओली समूहसँग रहेको देखिदैन । प्रतिनिधि सभा विघटनको विरोधमा रहेको प्रमुख विपक्षी नेपाली कांग्रेस र जसपाले ओलीलाई साथ दिने सम्भावना तत्काल रहेको देखिदैन ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलका अनुसार राष्ट्रिय सभामा विभिन्न १६ वटा विधेयकहरु विचाराधीन छन् । ६ वटा दर्ता भएर मात्रै रहेका छन् भने बाँकी १० वटा विधेयक सभा र समितिमा छन् । यी विधेयकहरु पारित गर्न ३० भन्दा बढीको बहुमत चाहिन्छ ।