Logo
५ जेष्ठ २०८१, शनिबार
(January 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : सन् २०२० मा के के कुराहरुले पाए चर्चा !

आजबाट इश्वीको नयाँ वर्ष २०२१ शुरु भएको छ । गएको वर्ष २०२० हामीबाट बिदा हुँदै गर्दा संसारभर अकल्पनीय मानवीय र आर्थिक क्षति पुर्‍याएको छ ।

गएको बर्ष  २०२० कोरोना वर्षका रुपमा चिनिएको र संसार नै त्रसित भएको थियो । चीनको वुहानबाट शुरु भएर संसार यात्रा गरेको महाब्याधी कोरोनाका कारण मानव सभ्यता माथि नै नयाँ चुनौति आइलागेको हो ।

कोरोनाका कारण अहिलेसम्म १८ लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ भने ८३ करोड १३ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । आर्थिक क्षतिको पनि भरपर्दो विवरण अझै आएको छैन । यस बर्षका विश्वव्यापी चर्चित घटना मध्ये सलह आतंक पनि एक हो । विषेशगरेर दक्षिण एसियाली मुलुकमा यसले बढी चर्चा पायो ।
कोरोनाको महामारी चलिरहेका बेला सलह पनि फैलिएको विषयले भोकमरी हुने र खाद्य सङ्कट आउने सम्मको विश्लेषण गरिएको थियो ।यसले यी देशहरुको कृषिमा ठूलो क्षति गरेको छ ।

सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको सलह नै एक बर्षपछि साउदी अरब, इरान हुँदै दक्षिण एसियाली राष्ट्र पाकिस्तान भित्रिएको थियो । त्यसपछि पाकिस्तानमा ठूलो क्षति पुर्‍याउँदै भारत हुँदै नेपाल छिरेको थियो ।

संसारका अमेरिका, बेलायतसहितको यूरोप, अष्ट्रेलियालगायतका शक्तिसम्पन्न मुलुक र तिनका नेतृत्वलाई कोरोनाले आफ्नो चरणमे सुताइदियो ।

धन्न यो एक वर्षमा संसारभरका वैज्ञानिकहरुले भने एकजुट बनेर यस निर्दयी अदृष्य विषाणुलाई मार्ने खोप बनाउन सफलता प्राप्त गरेका छन् ।

संसारकै सबैभन्दा शक्तिसम्पन्न भनिएको अमेरिका यसबाट तवाह भएको छ । त्यहाँ मात्र साढे तीन लाख मानिस कोरोना महाब्याधीका कारण मारिएका छन् ।

त्यहाँ दुई करोडभन्दा बढी मानिस संक्रमित हुँदा दोस्रो स्थानको भारतमा एक करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । भारतमा पनि १ लाख ४८ हजार मानिस मारिएका छन् ।

अमेरिका पछि ब्राजिलमा धेरै मानिस १ लाख ९४ हजारको मृत्यु र ७६ लाखभन्दा बढी मानिस संक्रमित छन् ।

अमेरिकामा त कोरोनाकै कारण राष्ट्रपति डोनल्ड ट्रम्पले सत्ता नै गुमाउनु परेको छ । शुरुमा निकै नै खेलाँची गरिहरेका ट्रम्पलाई ह्वाइट हाउसको बाटो रोक्ने माध्यम पनि यही कोरोना बनेको हो ।

चाइनिज भाइरस भन्दै जिस्किरहेका उनलाई परिस्थिति उनको काबु बाहिर पुगेर मानिसहरुको शवको पहाड बन्न थालेपछि अन्ततः दोस्रो कार्यकाल ह्वाइट हाउसमा रहने उनको सपना र जिद्दी दुबै नाकाम भएको छ ।

उनीभन्दा ज्येष्ठ पूर्वउपराष्ट्रपति डेमोक्रेट नेता जो बाइडन उनले थुपारेको फोहोर सोहोर्न आइपुगेका छन् ।

त्यस्तै यस बर्ष फुटबलका सर्वमान्य महान खेलाडी डिएगो म्यारोडोनालाई यसै बर्ष गुमाउनु पर्‍यो । साथै बेला बेलामा अमेरिकालाई चुनौती दिने र आणविक हतियार रहेको शक्तिशाली मुलुक मानिने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृत्युको हल्लाले पनि यस बर्ष धेरैको ध्यान खिच्यो ।

यस बर्षका ठूला घटनामध्ये इराकको राजधानी बग्दादमा अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको हत्याले विश्वभरी नै तरङ्ग फैलायो । र अमेरिकाले तालिवानसँग सम्झौता गर्दै अफगानिस्तानबाट आफ्नो अमेरिकी सैनिक फिर्ता बोलायो ।लामो विवाद र रस्साकस्सी हुँदै युरोपेली संघबाट बेलायत बाहिरिएको छ ।

प्रकाशित मिति: Jan 1, 2021

प्रतिक्रिया दिनुहोस्