Logo
११ बैशाख २०८१, मंगलबार
(December 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आधुनिक साजसज्जामा शुक्ल यजुर्वेद पाठ विधिसहितको पुस्तक सार्वजनिक

नेपालका अधिकांश वैदिक सनातन हिन्दू धर्मावलम्बीले यज्ञ गर्न प्रयोग गर्ने मन्त्रको स्रोत ‘वाजसनेयि-माध्यन्दिन-शुक्लयजुर्वेद-संहिता’ को नेपाली प्रकाशनबाट प्रकाशित शुद्ध पुस्तक बजारमा आएको छ ।

वेदपाठको नियमसहित राखिएको यो पुस्तक गुरुकुल प्रकाशन देवघाटले प्रकाशित गरेको हो । पुस्तकको सम्पादन स्वामी केशवानन्द गिरीले गरेका हुन् ।

वेदको पुस्तक पत्रमा प्राचीन खालको हुने भए पनि यो पुस्तक भने ‘डिमाइ साइज’को आधुनिक किसिमको छ । रेञ्जेनको खोलसहितको पुस्तकमा फन्ट पनि आधुनिक प्रयोग गरिएको छ ।

युनिकोडको यो फन्ट पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्ने अभियानमा लागेका स्वामी केशवानन्द गिरीले नै विकास गरेका हुन् । यसैले फन्टको नाम पनि केएन स्वामी राखिएको छ ।

पुस्तकमा वेद पाठको नियमसहित हात सञ्चालन र उच्चारण विधि पनि उल्लेख गरिएको छ । वेदको भूमिका, पृष्ठभूमिलाई नेपाली भाषामा पुस्तकमा समावेश गरिएको छ ।

वेदको विषयमा जान्न चाहने पाठकका लागि पनि पुस्तक उपयोगी छ । वेदका कतिपय विषयका पृष्ठभूमि टिप्पणीमा उल्लेख गरिएको छ ।

आकर्षक कागज उपयोग गरेर झोला प्रकारको गातामा सजिएको ३६० पृष्ठको पुस्तकको मूल्य रु ८०० तोकिएको छ ।

आफूले गुरुकुलमा निःशुल्क पढेको र सन्यास लिई सबैका लागि ज्ञान बाँड्ने अभियानमा लागेकाले लागत मात्र उठ्ने गरी मूल्य तोकिएको स्वामी केशवानन्द गिरी बताउछन् ।

वेदको पृष्ठभूमि बुझेर आधुनिक डिजिटल फन्टमा पाठ गर्न चाहनेका लागि पुस्तक उपयोगी छ । पुस्तक प्रकाशनसँगै स्वामी केशवानन्दले शुक्लयजुर्वेदको सारस्वरसहितको भिडियो बनाई युट्युब च्यानलमा राख्ने तयारीसमेत गरेका छन् ।

श्रुतिसमेत भनिने वेदलाई कुनै समय कागजमा लेख्नसमेत नहुने धारणा राखिन्थ्यो । गुरुले शिष्यलाई कानमा सुनाएर बाँडिने ज्ञान भएकाले श्रुति परम्पराका रूपमा समेत चर्चित छ ।

आधुनिक युगमा मानिसको व्यस्तता बढेसँगै गुरुबाट वेद सुनेर कण्ठस्थ गर्न फुर्सद स्मरण गर्न सक्ने क्षमतासमेत नहुने भएकाले सारस्वरसहितको भिडियो सार्वजनिक गर्न लागिएको उनको भनाइ छ ।

प्रकाशित मिति: Dec 29, 2020

प्रतिक्रिया दिनुहोस्