Logo
७ बैशाख २०८१, शुक्रबार
(December 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलमा मसिक कमाई १ लाख २० हजार, नेपाली श्रमिकलाई पठाउँदै सरकार

इजरायल जाने नेपाली कामदारले महिनाको १ लाख २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन ।

गत असोजमा इजरायसँग भएको श्रम सम्झौताअनुसार नेपाली कामदार त्यहाँ पठाउन तयार पारिएको ‘प्रोटोकल’ मा पुसको दोस्रो साता भित्रै दुईदेशका अधिकारीहरु बीच हस्ताक्षर हुने भएको छ ।

नेपाल र इजरायलबीच सरकारीस्तरमा गत असोजमा इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो ।

यही सम्झौतालाई आधार मान्दै तयार गरिएको उक्त प्रोटोकलमा इजरायल र नेपाल सरकारका अधिकारीहरुबीच सो समयावधी भित्रै हस्ताक्षर गर्नेगरी दुईदेशबीच सहमती जुटेको र त्यसैको गृहकार्यमा वैदेशिक रोजगार विभाग लागिपरेको छ ।

विभागका महानिर्देशक कुमार दाहालले प्रोटोकलको मस्यौदा दुईदेशबीच रुजु भैइसकेकाले हस्ताक्षर गर्न मात्रै बाँकी रहेको बताए । उनका अनुसार केही आन्तरीक गृहकार्य गर्नुपरेकाले प्रोटोकलमा हस्ताक्षर गर्न केही समय लागेपनि पुसको दोस्रो साता भित्रै हस्ताक्षर गरिनेछ ।

विभागका अनुसार नेपालबाट इजरायलले नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतमा नेपाली श्रमिक आपूर्ति गर्नेछ । श्रम सम्झौतका आधारमा सन् २०२१ को जनवरीदेखि नेपालबाट श्रमिक छनोट गरेर पठाउने गरी प्रक्रिया अगाडि बढ्ने दाहालले बताए ।

इजरायलमा कामदार पठाउनका लागि गत असोजमा भएको श्रम सम्झौतालाई केही दिन अघि बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको थियो । उक्त अनुमोदनसँग कामदार पठाउन थप बाटो खुला भएको विभागका अधिकारीहरुको भनाई छ ।

महानिर्देशक दहालका अनुसार श्रम सम्झौतामा उल्लेख भएअनुसार पहिलो चरणमा ५ सय कामदार रोजगारीका लागि इजरायल जाँदै छन । श्रम सम्झौताका आधारमा हिब्रु भाषा, अंग्रेजी र तालिम लिएका कामदारलाई परीक्षण प्रणालीबाट छनोट गरिने छ । श्रम सम्झौताअनुसार सरकारी तवरबाट नेपाली श्रमिक रोजगारीका लागि इजरायल जाने उनको भनाई छ । इजरायल रोजगारीमा जानका लागि तालिम, इजरायली भाषा र अंग्रेजी समेत जानेको हुनुपर्ने प्रोटोकलमा प्रष्ट पारिएको छ ।

सन् २०१५ मा सरकारीस्तरमा नै कामदार आपूर्ति गर्ने विषयमा नेपाल सरकारसँग इजरायलले ‘पाइलट प्रोजेक्ट’ का रूपमा श्रम सम्झौता गरेको थियो । तर, श्रम सम्झौता भएको ३ वर्षको अवधिमा नै नेपालीका लागि इजरायलको श्रम बजार बन्द भएको थियो ।

सम्झौता भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ३ वर्षमा ३ सय कामदार आपूर्ति गर्ने समझदारी भए पनि यो अवधिमा १ सय ६ जना मात्र इजरायल पुगेको विभागको तथ्यांक छ । सम्झौतामा भनिए जति कामदार पनि इजरायल आपूर्ति हुन सकेको थिएन ।

इजरायल जानका लागि विभागले पहिलो चरणमा गरेको आवेदनमा ८ सय १८ जनाले दरखास्त दिएका थिए । त्यसबाट अन्तिम भाषा परीक्षामा १ सय सहभागी भएकोमा ५९ जना मात्रै छनौट भएर इजरायल पुगेका थिए ।
दोस्रो वर्ष करिब १ हजार जनाले आवेदन दिएका थिए । जसमा ६० जना अन्तिम छनोटमा परे पनि अन्त्यमा ४७ जना मात्र इजरायल पुगेको विभागको तंथ्याकमा उल्लेख छ ।

तेस्रो वर्ष इजरायलले कामदारको माग नै गर्न छाडेको थियो । इजरायल सरकारले ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष हुनुपर्ने सर्त राखेकाले नेपाली महिलाका आकर्षक गन्तव्य देशभित्र इजरायल परेको थियो ।

श्रम सम्झौतामै केयर गिभरका लागि इजरायल जाने कामदारले न्यूनतम ९० हजार रुपैयाँ पारिश्रमिक तोकिएको हुन्छ । इजरायल जाने कामदारले स्वास्थ्य परीक्षण, बीमा हवाई खर्चसहित लगभग ९ सय ५० डलर खर्च लाग्ने गरेको छ । उनीहरूले ५ वर्षसम्म इजरायलमा रोजगारी पाउने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
तीन महिनाको ‘केयर गिभर’ तालिम लिएका वा नर्सिङ पढेकालाई इजरायल लैजान सकिने श्रम सम्झौताले प्रष्ट पारेको थियो ।

प्रकाशित मिति: Dec 16, 2020

प्रतिक्रिया दिनुहोस्