Logo
११ असार २०८२, बुधबार
(December 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले सरकारविरुद्ध आज देशभर प्रदर्शन गर्दै, देउवाले मकवानपुर र पौडेलले काठमाडौंमा सम्वोधन

सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गरेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा सरकारविरुद्ध आज देशभर प्रदर्शन गर्ने भएको छ।

देशमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरी नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेकोले बाध्य भएर प्रदर्शन गर्नुपरेको कांग्रेसको भनाइ छ ।

आज हुने विरोधका कार्यक्रममा ७७ वटै जिल्लामा केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । प्रदर्शनमा सभापति शेरबहादुर देउवा मकवानपुर, वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं र उपसभापति विमलेन्द्र निधि भक्तपुरको सभामा सहभागी हुने कांग्रेसले जनाएको छ । साथै नेता गगन थापा कैलाली सम्बोधन गर्ने कार्यक्रम रहेको ।

त्यस्तै, उपसभापति विमलेन्द्र निधिले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

महामन्त्री डा. शशांक कोइरालाले विराटनगर, सहमहामन्त्री डा. प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषा, सहमहामन्त्री सुनीलबहादुर थापाले धनकुटा र पूर्वसहमहामन्त्री डा.रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले कास्कीमा हुने विरोध सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कांग्रेसले कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।

‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो,’ अपीलमा देउवाले भनेका छन्, ‘यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ । सरकार प्रतिको वितृष्णा मूलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वाभाविक हक हो । अतः नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो  आजको सांकेतिक प्रदर्शन ।’

तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि कांग्रेस आक्रोशित बनेर कोरोनामाहामरीबिचमा पनी सडकमा उत्रिने निणर्य गरेको हो ।

प्रकाशित मिति: Dec 14, 2020

प्रतिक्रिया दिनुहोस्