Logo
१० बैशाख २०८१, सोमबार
(December 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडीका १६ ठाउँबाट नेपाल टेलिकमको फोरजी सेवा, विद्युत् नपुग्दा समस्या

सुदूरपश्चिम प्रदेश स्थित बैतडीका १६ ठाउँबाट नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा रहेको छ ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका अनुसार जिल्लाको शाहीलेक, गढी, कठपते, सतबाँझ, पाटन, बिजुल, ग्वाल्लेक र खोडपेबाट फोरजी सेवा सञ्चालनमा रहेको हो ।

यसका साथै रोडीदेवल, जलहल्ला, दुर्गास्थान, चौड, सिल्लेक, शिखरपुर, कुवाकोट र पञ्चेश्वरबाट पनि फोरजी सेवा सञ्चालनमा रहेको नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका प्रमुख सुरेन्द्रसिंह कार्कीले जानकारी दिएका छन् ।

जिल्लाका थप नौ स्थानबाट पनि फोरजी सेवा सञ्चालनको तयारी भएको उनले बताए । उनले भने, “कैलपाल, मानिकाखान, ठाँड, कटौजपानी, झुलाघाट, पुर्चौडीहाट, सुर्नया गाउँपालिका, वसन्तपुर र सिगासको गुगुल्टेबाट पनि फोरजी सेवा सञ्चालनको तयारी भएको छ । कैलपाल, मानिकाखान, ठाँडमा टावर बनिसेकेको छ ।”

जिल्लाका २८ स्थानमा टावर राखेर टेलिकमले नमस्ते मोबाइलको सेवा दिइरहेको छ । टेलिकमले जिल्लाभरि आफ्नो क्षमता विस्तार गर्न टावर निर्माण र स्तरोन्नतिको काम गरिरहेको दूरसञ्चार कार्यालय बैतडीका प्रमुख कार्कीले जानकारी बताए ।

उनले भने, “हाल टेलिकमले स्थानीय तहका कार्यालयलाई प्राथमिकतामा राखेर सेवा थपिरहेको छ, पुराना टावर रहेका स्थानबाट सेवा प्रभावकारी भए पुरानै टावरबाट सेवा दिइरहेको र पुराना टावरबाट सेवा प्रभावकारी नभए नयाँ टावर थपिररहेको हो ।”

सूचना, प्रविधिमा भइरहेको परिवर्तन र आधुनिकतासँगै इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा भने तीव्रगतिमा वृद्धि भइरहेको उनको भनाइ छ ।

जिल्लाका अधिकांश टेलिकमका टावरमा विद्युत् नहुँदा सोलारको भरमा सञ्चालनमा रहेका छन् । सोलारको भरमा रहेका टावरले घाम लागेको बेला मात्रै नेटवर्क आउने गरेकाले समस्या हुने गरेको छ ।

बैतडीमा रहेका सबै नेपाल टेलिकमका टावरमा विद्युत्को पहुँच नपुग्दा इन्टरनेट र फोन सेवा प्रभावकारी हुनसकेको छैन । जिल्लामा रहेका आठ टावरमा मात्रै विद्युत्को पहुँच रहेको टेलिकम कार्यलय प्रमुख कार्कीले जानकारी दिए ।

शाहीलेक, गढी, कठपते, सतबाँझ, पाटन, ग्वाल्लेक, सिल्लेक र खोडपेमा रहेका टावरमा मात्रै विद्युत्को पहुँच रहेको उनले बताए । बैतडीमा नेपाल टेलिकमका २८ टावरमध्ये १६ टावरबाट फोरजी सेवा सञ्चालनमा रहेका छन् ।

उनले भने, “विद्युत्को पहुँच नभएका ठाउँमा सोलारको भरमा टावर सञ्चालनमा छन् ।” सोलारको भरमा टावर रहेका सेवा क्षेत्रका नागरिकले घाम लागेको बेलामात्रै फोन सेवा र इन्टरनेट सेवा लिन पाउँछन् ।

घाम नलागेको बेला ब्याट्री चार्ज नभएर सेवा प्रवाह नहुँदा अधिकांश नागरिक फोन सेवा र इन्टरनेट सोव लिनबाट वञ्चित हुने गरेका छन् ।

घाम लागेको बेलामात्रै फोन सेवा र इन्टरनेट सेवा उपलब्ध हुने र अन्य समयमा नेटवर्क नआउने समस्या रहेको पुर्चौडीबाट अनिरुद्र जोशीले जानकारी दिए ।

फोरजी सेवा सञ्चालनमा रहेका टावरमा विद्युत्को पहुँच पुगेको भए ८०० र एक हजार ८०० मेगाहर्ज दुवै सेवा सञ्चालनमा रहेका दूरसञ्चार कार्यालयले जनाएको छ ।

सोलारको भरमा रहेका टावरबाट पावर नपुग्ने भएकाले ८०० मेगाहर्जबाट मात्रै सेवा सञ्चालनमा रहेको दूरसञ्चार कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति: Dec 6, 2020

प्रतिक्रिया दिनुहोस्