Logo
२ जेष्ठ २०८१, बुधबार
(December 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, सचिवालय विवादमा सहमति जुटाउन असफल

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ ।

आज दिउँसो १ बजे धुम्बराही पाटी कार्यलयमा बैठक बस्ने तय भएको छ ।  नेकपाको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि पार्टीभित्रको विवाद स्थायी समितिमा लैजाने निर्णय भएको छ ।

हिजो बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको हो ।तर आजको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली भने उपस्थित हुने नहुने टुङ्गो लागि नसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार आजका लागि तय भएको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने पार्टी केन्द्रीय सचिवालयले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

प्रवक्ता श्रेष्ठले पार्टीको समस्याका विषयमा छलफल भए पनि निष्कर्ष ननिस्किएपछि केन्द्रीय सचिवालयमा दुई अध्यक्षद्वारा अलगअलग प्रस्तुत आरोप प्रत्यारोपका पत्रहरु स्थायी कमिटीमा बुझाइने र सोही बैठकले विवादको निरुपण गर्ने बताए ।

स्थायी कमिटी बैठकको बीचमा पनि सचिवालय बैठक बस्न सक्ने र नेताहरुबीच अनौपचारिक भेटघाट भइरहेन प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लामो अन्तरपछि हिजो भएको आधा घण्टा लामो एक्ला-एक्लै छलफलपछि सचिवालय बैठक बसेको हो ।

अध्यक्ष ओलीले छलफलका क्रममा आफूले दुवै पद नछोड्ने जानकारी दिएका थिए । उनले कार्यसूची तयार नपारिएकाले सचिवालयमै सहमतिको वातावरण बनिनसकेकाले स्थायी कमिटी बैठकको कुनै औचित्य नरहेको भन्दै स्थायी कमिटी बैठकका लागि सहमत देखिएका थिएनन् ।

तर अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितका नेताले बैठक राख्नमै जोड दिएका थिए ।

त्यसपछि ओली मौन रहेको बैठकमा सहभागी एक सदस्यले प्रशासनलाई बताए । “बैठक नै नराखौँ । छलफल नै नगरौँ भन्दै हुनुहुन्थ्यो, प्रस्ताव छैन भन्दै हुनुहुन्थ्यो तर बैठक रोक्न असफल हुनुभयो,” एक सचिवालय सदस्यले भने ।

गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीमाथि दर्जनौं प्रश्न गर्दै फरक प्रस्ताव ल्याएका थिए भने त्यसको काउन्टरमा ओलीले पनि मंसिर १३ गतेको बैठकमा छुट्टै प्रस्ताव ल्याएपछि नेकपाभित्रको विवाद थप चर्किएको हो ।

प्रकाशित मिति: Dec 6, 2020

प्रतिक्रिया दिनुहोस्