Logo
१२ श्रावण २०८१, शनिबार
(December 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारतबीच देखिएका विवाद वार्ताबाटै मिलाइन्छ : भारतीय विदेशमन्त्री

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल र भारतबीचको सम्बन्ध अब सुधारतर्फ अघि बढेको बताएका छन्।

भारतीय अखबार ‘द हिन्दु’ की विदेश मामिला सम्पादक सुहासिनी हैदरलाई दिएको अन्तर्वार्तामा उनले विगतमा रहेका समस्याबाट दुवै देश अघि बढ्ने निर्णय भएको बताए।

नेपाल–भारत संयुक्त आयोगको बैठक तय भएको १२ दिनअघि बिहीबार प्रकाशित अन्तर्वार्तामा जयशंकरले छिमेकीहरुबीच समस्या हुनु स्वाभाविक रहेको र अब ती समस्याबाट अघि बढेको बताएका हुन्।

‘कुनै समय हामीबीच विषयहरु थिए। तर केही सातायता स्पष्ट रुपमा हामी देख्न सक्छौँ कि दुवै देश अगाडि बढ्ने निर्णय भएको छ ’ उनले भनेका छन्, ‘सबै छिमेकी मुलुकसँग समस्या हुने र समाधान हुने गरेका छन्।’

विदेशमन्त्री जयशंकरले छिमेकमा अनेकौँ परिवर्तन आएको र त्यसलाई पनि हेर्नुपर्नेमा जोड दिएका छन् ।

‘मैले भनेको छु कि घटनाक्रमहरुलाई न्यायको अन्तिम अस्तित्वको रुपमा लिनु हुँदैन। समस्याहरु आउँछन्। आपसमा बसेर समाधान निस्कन्छन्,’ उनले भने, ‘हाम्रा अधिकांश छिमेकीहरु प्रजातन्त्रवादी मुलुक छन् । राजनीति उनीहरुको आफ्नो छ, हाम्रो आफ्नो छ। त्यहाँ विषयहरु हुन्छन्।’

यसको व्यवस्थापन कसरी गरिन्छ र मिलन बिन्दु कसरी खोजिन्छ भन्ने अहम् विषय भएको भन्दै उनले भारतले सबैसँग असल सम्वन्ध राख्न चाहेको र चाहने बताएका छन् ।

नेपाल र भारतबीच ११ मंसिरमा परराष्ट्र सचिवस्तरीय वार्ता भएको थियो। त्यसअघि भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको औपचारिक भ्रमण भएको थियो।

नरवाणेभन्दा अघि भारतीय प्रधानमन्त्रीको सन्देश लिएर ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल नेपाल आएका थिए।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको भ्रमणपछि दुवै देशबीचको सम्वन्धमा सुधार आएको सन्दर्भमा विदेशमन्त्रीको यो भनाइ आएको छ।

दुवै देशबीच परराष्ट्रमन्त्रीस्तरीय बैठक हुँदैछ। गत वर्ष २ नोभेम्बरमा भारतले कालापानी र लिपुलेकलगायत भूमिलाई समेटेर एकतर्फी नक्सा जारी गरेपछि दुवै देशबीच विवाद सुरु भएको थियो। त्यसको एक वर्षपछि औपचारिक छलफल सुरु भएको हो।

प्रकाशित मिति: Dec 3, 2020

प्रतिक्रिया दिनुहोस्