Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्र आउने

कक्षा १२ को परीक्षाको नतिजा अबको ठिक एक महिनाभित्र आउने भएको छ ।

विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षले बताएका छन् ।

मसिर ९ गते सुरु भएको कक्षा १२ का विद्यार्थीको वार्षिक परीक्षा मंगलबार सकिएको हो । परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी भौतिक रूपमै परीक्षामा सहभागी भएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रध्यापक डाक्टर चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिएका छन् ।

यसबाट विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुल्ने भएको हो । यसका लागि देशभरका शिक्षकहरूसित समन्वयमा काम भइरहेको जनाइएको छ ।

परीक्षा बोर्डले एक साताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ । कतिपय विषयको उत्तरपुस्तिका परीक्षण सुरु भइसकेको छ ।

विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले एक साताभित्र यो काम पूरा हुने विश्वास गरिएको अध्यक्ष पौडेलले बताए ।

यसपटक कोरोनाका कारण सबै विद्यार्थीलाई आफूले नै अध्ययन गरेको विद्यालयमा परीक्षा दिने अवसर बोर्डले उपलब्ध गराएको थियो ।

यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट प्रभावित भएर परीक्षा लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ ।

विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना आगामी १५ दिनको हाराहारीमा दिने बोर्डको तयारी रहेको छ ।

प्रकाशित मिति: Dec 2, 2020

प्रतिक्रिया दिनुहोस्