नेकपा सचिवालय बैठक आज पूनः बस्दै, प्रधानमन्त्री ओली सहभागी नहुने

पछिल्लो समयका नेकपा विवादको चरम विन्दुमा पुगेको अवस्थामा नेकपा सचिवालय बैठक आज पनि बस्दै छ ।
प्रधानमन्त्री केपी ओली भने आज दिउँसो १ बजे बस्ने बैठकमा सहभागी नहुने बुझिएको छ । हिजोको सचिवालय बैठकमा नै बैठक बसिरहनुको औचित्य नरहेको भन्दै उनले आजको बैठकमा सहभागी नहुने जानकारी गराएका थिए ।
मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको हो।
बैठकमा हिजोदेखि दुई अध्यक्षको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ ।बैठकमा अध्यक्षद्वयले आ-आफ्नो धारणा राखेपछि औपचारिक छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
आजको बैठक बस्नुअघि नेताहरुबीच अनौपचारिक छलफल पनि हुने उनले बताएका छन् । यस्तै स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमै हुने पनि प्रवक्ता श्रेष्ठले बताए ।
प्रस्ताव फिर्ता नलिएसम्म बैठक बस्नुको औचित्य नभएको ओलीले बताउँदै आएका छन् भने प्रस्तावबारे निर्णय गर्ने अधिकार पार्टी बैठकको रहेकोले फिर्ता नगर्ने अडान प्रचण्डको छ ।
सबै समस्याको समाधान बैठकमार्फत खोज्नुपर्नेमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल,बामदेव गौतमलगायत सचिवालय सदस्यहरुको अडान रहेको छ ।
यसअघि नै मंसिर १८ गते अर्थात भोलिका लागि बैठकको मिति तय भएको पूर्वनिर्धारित मितिमै बैठक बस्ने उनको भनाइ रहेको छ । कार्यकारी अध्यक्षको प्रस्तावलाई लिएर ओली असन्तुष्ट बनेका छन् ।