Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धर्म र संस्कृति जाति विशेषका नभई साझा हुँदै गएका छन् : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसरलाई झन फराकिलो बनाएकोे बताएका छन् ।

श्री गुरुनानकको ५५२ औँ जन्मजयन्तीको अवसरमा आज शुभकामना दिँदै उनले नेपाल जाति, धर्म-संस्कृति र भूगोलमा विविधतायुक्त मुलुक भएको र यही विविधतायुक्त नेपाली समाजको पहिचान विशाल र ओजिलो बनेको उल्लेख गरेका छन् ।

धार्मिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको उनको भनाइ छ ।

“धर्म र संस्कृति जाति र समुदाय विशेषका नभएर सबैका साझा हुँदै गएका छन्, जसले समाजमा भ्रातृत्व र मेलमिलापको वातावरण बनाएको छ”, मुख्यमन्त्री पोखरेलले उल्लेख गरे ।

काठमाडौँका विभिन्न स्थानमा रहेका प्राचीन गुरुनानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेको बताउँदै उनले भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका ती दुर्लभ ग्रन्थ हाम्रा लागि गौरवका विषय भएकाले गुरुनानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य भएको बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसङ्ख्यक समुदायको उत्थान र विकासका लागि पनि मार्ग प्रशस्त गरेको जनाउँदै उहाँले संवैधानिकरूपमै आयोगको गठन गर्ने व्यवस्था गरेर सम्मान व्यक्त गरेको बताए ।

मुख्यमन्त्री पोखरेलले संविधानको व्यावहारिक कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले अधिकारको उपभोग गर्दै जाने विश्वास व्यक्त गरे ।

उनले गुरुनानक जयन्तीलाई पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै मनाउन आग्रह गरे ।

प्रकाशित मिति: Nov 30, 2020

प्रतिक्रिया दिनुहोस्