Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थ मन्त्रालयले लगायो होटलमै आवासीय कार्यक्रम गर्न प्रतिबन्ध

सरकारी निकायले अब होटलमै आवासीय कार्यक्रम गर्न नपाउने भएका छन् ।

सरकारी निकायले तारे होटल र विभिन्न जिल्लामा पुगेर होटलमै आवासीय कार्यक्रम गर्न प्रतिबन्ध लागेको हो ।

अर्थ मन्त्रालयले जारी गरेको १३ बुँदे मापदण्डमा अब भौतिकरुपमा उपस्थित भई तालिम गोष्ठी गर्नुपरेमा उपलब्ध भएसम्म आफ्नै सभाहल वा बैठक कक्षमा गर्नुपर्नेछ ।

यदि आफ्नो कार्यालयमा स्थान उपलब्ध नभएमा सार्वजनिक हल वा बैठक हल प्रयोग गर्नुपर्नेछ । सरकारको स्रोत र वैदेशिक ऋणबाट बेहोरिने गरी आवासीयरुपमा गोष्ठी र कार्यशाला आयोजना गर्न नपाइने व्यवस्था छ ।

सरकारले जारी गरेको सार्वजनिक खर्चमा मितव्ययीता कायम गर्नेसम्बन्धी मापदण्ड २०७७ मा सो व्यवस्था उल्लेख छ ।

अधिकांश सरकारी निकाय र अनुदानबाट सञ्चालित संस्थाले महँगो होटलमा कार्यक्रम गरी फजुल खर्च गरेको र आर्थिक अनियमितता हुने गरेको आशंका भएपछि सरकारले मापदण्ड बनाएर खर्च नियन्त्रण गरेको हो ।

मापदण्डअनुसार सार्वजनिक निकायले प्रकाशन गर्नुपर्ने प्रतिवेदन प्रचलित कानुनबमोजिम छपाइ र प्रकाशन गर्नुपर्नेबाहेक अन्य सामग्री छपाइ नगरी वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने, चिठीपत्रहरु इमेलबाट आदानप्रदान गर्नुपर्ने, तालिम गोष्ठी, छलफल, बैठक, अन्तरक्रियालगायत सम्पूर्ण कार्यक्रम अनलाइन प्रविधिबाट सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।

सरकारी स्रोत वा वैदेशिक ऋणबाट खर्च बेहोरिने गरी वैदेशिक अवलोकन, तालिम वा अध्ययन भ्रमणमा मनोनयन गर्न नपाइने तर द्विपक्षीय वा बहुपक्षीय वार्ता, अन्तर्राष्ट्रिय संगठनबाट आयोजना हुने बैठकमा मुलुकको प्रतिनिधित्व हुनुपर्ने विषय एवं कुनै अत्यावश्यक कामका लागि वैदेशिक भ्रमणको मनोनयन गर्नुपर्दा अर्थ मन्त्रालयको पूर्वसहमति लिनुपर्ने, सार्वजनिक निकायका अधिकारीले निर्माण व्यवसायी र परामर्शतादाको खर्चमा विदेश भ्रमण गर्न नपाउने विषय मापदण्डमा उल्लेख रहेको छ ।

स्रोतको बढ्दो माग व्यवस्थापन गर्ने चुनौती रहेको अवस्थामा मन्त्रालयले सो मापदण्ड जारी गरेको हो ।

 

प्रकाशित मिति: Nov 29, 2020

प्रतिक्रिया दिनुहोस्