Logo
७ बैशाख २०८१, शुक्रबार
(November 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा सचिवालय बैठक भोलि बस्दै, ओली-प्रचण्डबीच आजै वार्ता गराउन नेम्वाङको प्रयास

पछिल्लो समयमा नेकपाभित्र आन्तरीक विवाद चुलिएको अवस्थामा नेकपाको सचिवालय बैठक भोलि बस्दै छ ।

गत कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालपक्षको सचिवालय सदस्यहरुको सहमतिमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

उक्त प्रतिवेदनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आरोपपत्रको संज्ञा दिएका थिए । मंसिर ३ गते बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दाहालको राजनीतिक प्रतिवेदनलाई लिएर प्रश्न उठाएका थिए ।

दाहालले लगाएको आरोपको आफूले खण्डन र जवाफ दिने भन्दै ओलीले मंसिर ३ गतेको बैठकमा दश दिनको समय माग गरेका थिए ।

सोहीअनुसार नेकपा सचिवालय बैठक भोलि अपरान्ह बस्दैछ । यो बीचमा अध्यक्षद्धय ओली र दाहालबीच भेटवार्ता त परै जाओस अहिले पानी बाराबारको अवस्था छ । नेता तथा कार्यकर्ताहरु पनि एक अर्कोमाथि जाईलागिरहेका छन् ।

भोलिको बैठक बस्नुअघि नै दुई अध्यक्षबीच भेटवार्ता गराउनको लागि पहल भैरहेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन् ।

नेता नेम्वाङले भने,‘भोलिको सचिवालय बैठक अघि नै दुवै अध्यक्षलाई वार्ता गराउन पहल गरिराखेको छु । समस्याको समाधान वार्ता तथा छलफलबाट हुन्छ । हामी आशावादी छौं, यो विवाद समाधान हुन्छ । दुवै अध्यक्षाई मिलाएर लैजाने अन्तिम प्रयास भैरहेको छ ।’

तर, वरिष्ठ नेता झलनाथ खनालले भने आफूहरु अध्यक्ष तथा प्रधानमन्त्री ओलीको प्रस्तावको पखाईमा रहेको र सबै कुरा अब बैठकमै छलफल हुने स्पष्ट पारे । उनले भने,‘अब वारपारको लडाँई हुन्छ । अध्यक्ष कमरेड ओलीको प्रस्ताव हेरेपछि हामी हाम्रो रणनीति बनाउँछौं ।’

गत कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय सदस्यहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँगको छलफल र सहमतिमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा विवाद चुलिएको छ ।

प्रकाशित मिति: Nov 27, 2020

प्रतिक्रिया दिनुहोस्