Logo
१२ श्रावण २०८१, शनिबार
(November 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीयताको कानुन निर्माणको सम्बन्धमा दलहरुमा प्रशिक्षणको कमी छ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संघीयताको कानुन बनाउने सम्बन्धमा राजनीतिक दलहरुमा प्रशिक्षणको कमी भएको बताएका छन् ।

सापकोटाले शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सन्चालनका लागि अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रममा सो धारणा राखेका हुन् ।

सापकोटाले भने, ‘जनमुखी विधेयकहरु बनाउनुपर्छ । प्रदेश र संघलाई एकाकार गरेर नै विधेयक बनाउन आवश्यक हुन्छ । कानुन बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको छ, विज्ञको कमी भएको छ, सांसदहरुमा त्यो कमी छ । त्यसकारण यसमा बढी ध्यान दिनुपर्छ ।’

सापकोटाले पार्टीभित्र लोकतन्त्रको पनि राम्रो अभ्यास नभएको बताउँदै प्रदेश र संघलाई एकाकार गरेर विधेयक बनाउनुपर्नेमा जोड दिएका छन् ।

सापकोटाले भने, ‘पार्टीभित्र पनि लोकतन्त्रको राम्रो अभ्यास भएको अनुभव भएको छैन । पार्टीबाट सांसदहरुलाई राम्रो प्रशिक्षण भएको छैन ।’

सापकोटाले राजावादीहरुको गतिविधितर्फ संकेत गर्दै भने, ‘संघीयताको अहिले राम्रो अभ्यास हुँदै गएको छ । संघीयता नेपाली जनतालाई महत्वपूर्ण हो । यसको औचित्य पुष्टि गर्ने हाम्रो दायित्व हो । जनतालाई परेको छ, संघीयता आवश्यक रहेछ ।’

स्थानीय सरकारको भूमिका पनि त्यही रुपमा देखापरेको सापकोटाको भनाइ रहेको छ । अर्को एक प्रसंगमा उनले संघीयताको औचित्य पुष्टि गर्ने दायित्व आफूहरुमा रहेको समेत बताए ।

प्रकाशित मिति: Nov 27, 2020

प्रतिक्रिया दिनुहोस्