Logo
१२ श्रावण २०८१, शनिबार
(November 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय शहीद स्मारक क्षेत्रमा शहीद एवं युनेस्को सङ्ग्रहालय ग्राम बनाइने

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा शहीद एवं युनेस्को सङ्ग्रहालय ग्राम बनाइने भएको छ ।

सङ्घीय सरकारको चालु आवको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरिएको बृहत् शहीद स्मारकको स्रोतबाट ग्राम निर्माण गर्न लागिएको हो ।

सङ्ग्रहालयसहित ग्राम निर्माणका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गत साउन १२ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वीकृति दिएका थिए ।

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको अध्यक्षसमेत रहेका मन्त्री पोखरेलको नीतिगत निर्णयपछि काम अघि बढाइएको राष्ट्रिय शहीद तथा शान्ति उद्यान, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।

ग्राम निर्माण हुने भएपछि बिहीबार मन्त्रालयका सचिव गोपीनाथ मैनालीले निर्माणस्थलमा पुगी अवलोकनसहित समितिका पदाधिकारी एवं सदस्यसँग छलफल गरेका थिए । सो अवसरमा सचिव मैनालीले छिटो काम अघि बढाउने प्रतिबद्धता जनाए ।

ग्रामसँगै चार शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र प्रथम शहीद लखन थापाको समेत शालिक निर्माण गरिनेछ ।

पाँचै जना शहीदलाई सम्मान गर्ने मण्डला, पानीको फाउण्टेन, स्मारक क्षेत्रमा गुणस्तरीय ढुङ्गा बिच्छ्याउने काम पनि चालु आवमा सम्पन्न गरिने समितिले जनाएको छ ।

मन्त्रिपरिषद्को २०६४ जेठ ११ गतेको निर्णयअनुसार स्मारक निर्माणको काम भइरहे पनि अझै पूरा हुनसकेको छैन । शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत निर्माण भइरहेको स्मारकमा निर्माण व्यवसायीले काम ढिला गर्दा आधा बनेका संरचना अलपत्र छन् ।

मन्त्रालय खारेजीसँगै दुई वर्षसम्म कुन मन्त्रालयअन्तर्गत शहीद स्मारक निर्माण आयोजना राख्ने भन्ने विवादमै समय सकिएको थियो । शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत आयोजना राखी हाल काम अघि बढेको छ ।

उपत्यकाको अधिकांश भाग देखिने गोकर्णस्थित सामुदायिक वनको ६५० रोपनी जग्गामा स्मारक निर्माण भइरहेको हो ।

तेह्र वर्ष अघिदेखि शुरु भएको शहीदको नामको स्मारक सरोकार भएका निकायको प्राथमिकतामा नपर्दा अझै पूरा हुनसकेको छैन ।

प्रकाशित मिति: Nov 27, 2020

प्रतिक्रिया दिनुहोस्