Logo
११ बैशाख २०८१, मंगलबार
(November 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको निधन

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड-१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ ।

कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत डा शाक्यको आज बिहान ४ बजे निधन भएको हो ।

डा शाक्य तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका पालामा आयोगका उपाध्यक्ष भएका थिए । उनले तत्कालीन अर्थमन्त्री डा रामशरण महतका पालामा अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारको भूमिकामा जिम्मेवारी वहन गरेका थिए ।

आयोगको सचिव बनेका डा शाक्य त्यसअघि तत्कालीन विज्ञान तथा वातावरण मन्त्रालयको सचिव भएका थिए । उनले योजना आयोगबाट शाखा अधिकृतका रूपमा ‘करिअर’ शुरु गरेका थिए ।

शाक्यले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर र भारतको मुम्बई विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । स्व डा शाक्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले शाक्यलाई एक इमान्दार, कर्तव्यनिष्ठ, आर्थिक क्षेत्रका विज्ञका रूपमा स्मरण गरेका थिए ।

गत कात्तिक २० गते डा शाक्य कोरोना सङ्क्रमण पुष्टि भएपछि २५ गते ग्लोबल अस्पतालमा भर्ना भएका थिए । त्यहाँ स्वास्थ्यावस्था जटिल भएपछि थप उपचारका लागि उनलाई यही मङ्सिर ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

मधुमेह र उच्च रक्तचापका बिरामी डा शाक्यलाई पछिल्लो समय मिर्गौलाको पनि जटिल समस्या देखिएको परिवार स्रोतले जनाएको छ । काठमाडौँको वटुटोल निवासी डा शाक्यका श्रीमतीसहित तीन छोरा र एक छोरी छन् ।

प्रकाशित मिति: Nov 26, 2020

प्रतिक्रिया दिनुहोस्