Logo
१२ श्रावण २०८१, शनिबार
(November 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड-नेपाल पक्षलाई ‘काउन्टर’ दिनेगरी ओलीको प्रतिवेदन कसले बनाउँदै छ ?

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनको बलियो प्रतिवाद गर्नेगरी जवाफी प्रस्ताव तयार गरिरहेका छन्।

अध्यक्ष ओलीको प्रतिवेदनको प्रारम्भिक खाका तयार गर्न स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, राजनीतिक सल्लाहकार विष्णु रिमालले ओलीको प्रतिवेदन तयार पारिरहेका छन्।

त्यस्तै, उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्थायी समिति सदस्य सुवास नेम्वाङसहित प्रधानमन्त्री ओलीका सचिवालयका सदस्यहरु खटिएका छन्।

प्रतिवेदनमा सैद्धान्तिक पक्ष, पार्टी एकतादेखि अहिलेसम्मको अवस्थालगायतको हिस्सा मुख्यमन्त्री पोखरेलले नै ड्राफ्ट गर्नेछन्। मुख्यमन्त्री पोखरेल प्रदेशको काम थाती राखेर ओलीलाई कसरी बलियो बनाउने भन्ने खेलमा व्यस्त छन्।

अन्य नेताले पनि प्रचण्डको प्रस्ताव फिर्ता गराउन पहल गरेपनि फिर्ता भएको छैन। गत मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रचण्डको प्रतिवेदनको जवाफका लागि ओेलीले १० दिनको समय मागेपछि १३ गतेसम्मका लागि बैठक पनि सरेको छ। प्रचण्डले पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता गराउने प्रयास सफल नभएपछि ओली पक्ष छुट्टै प्रतिवेदन तयार गर्न जुटेको हो।

प्रधानमन्त्री ओलीले मंसिर ३ गतेको सचिवालय बैठकमा प्रचण्डको प्रतिवेदनमाथि कयौँ प्रश्न उठाएका थिए। प्रचण्डले लगाएका आरोप पुष्टि भए आफू पदमा बस्न नमिल्ने र पुष्टि नभए प्रचण्डले पद छाड्नुपर्ने ओलीको भनाइ थियो।

सचिवालयका बहुमत सदस्यको तर्फबाट प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा राजनीतिक प्रस्ताव भन्दै सबै सचिवालय सदस्यलाई वितरण गरेका थिए। पाँच भाग १९ पृष्ठमा रहेको सो प्रस्ताव नेकपाका तल्ला तहका नेता कार्यकर्तालाई अध्ययन गर्न पठाइ सकिएको छ।

प्रकाशित मिति: Nov 25, 2020

प्रतिक्रिया दिनुहोस्