Logo
११ बैशाख २०८१, मंगलबार
(November 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आँधीमूल मन्दिरमा प्रवेशमा रोक, मानुङकोटमा प्रहरीचौकी राखिने

धार्मिक पर्यटकीयस्थलका रुपमा परिचित हुँदै आएको आँधीमूल मन्दिरमा दर्शनार्थीलाई पूर्ण रुपमा रोक लगाइएको छ । आँबुखैरेनी गाउँपालिकाको बैठकले निर्णय गरी वडा नं मा रहेको मन्दिर प्रवेशमा रोक लगाएको हो ।

यही मङ्ङिसर १० गते ठूलो एकादशीका दिन दर्शनार्थीको भीड लाग्न सक्ने सम्भावनालाई ध्यानमा राखी रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट सुरक्षित हुन अहिलेको वर्ष उक्त मन्दिर प्रवेशमा रोक लगाइएको हो । उनले भने, “उक्त दिन आँधीमूल मन्दिरमा दर्शन तथा मेलामा सहभागी हुन बन्देज गरिएको छ ।”

मानुङकोटमा प्रहरीचौकी राखिने

पर्यटकीयस्थल व्यास नगरपालिका–५ स्थित मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

मानुङकोटमा घुम्न आउने पर्यटकको सुरक्षालाई ध्यानमा राखी मानुङकोट डाँडामा प्रहरीचौकी राख्ने योजना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

उनले भने,“सोही स्थानमा प्रहरीचौकी रहेका खण्डमा कुनै घटना भइहाल्यो भने तत्काल उद्धार गर्न सजिलो हुने र घटनापछि फरार हुने कार्यलाई न्यूनीकरण गर्न सकिन्छ ।”

उक्त स्थानमा प्रहरीचौकीको आवश्यक देखिएकाले गण्डकी प्रदेश प्रहरी कार्यालयमा माग गरिएको छ । स्वीकृत भएर आएपछि प्रहरी बस्ने भौतिक संरचनाका लागि भने सम्बन्धित निकायले व्यवस्था मिलाउनुपर्ने हुन्छ ।

दमौलीको चापाघाटदेखि करीब ६ किलोमिटर दूरीमा रहेको मानुङकोट समुद्री सतहदेखि करीब एक हजार २०० मिटर उचाइमा छ ।

उक्त स्थानमा सार्वजनिक शौचालय र खानेपानीको समस्या रहेकाले व्यास नगरपालिका कार्यालयले रु ३० लाख बजेट विनियोजन गरेको छ ।

पछिल्लो समय मानुङकोटमा आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको अवस्थामा शौचालय र खानेपानीको चरम समस्या रहेकाले तत्काल व्यवस्थापन गर्न उक्त रकम विनियोजन गरिएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

उक्त स्थानमा सार्वजनिक शौचालय निर्माणलगायत अन्य अत्यावश्यक भौतिक संरचना निर्माण गर्नका लागि विभिन्न सङ्घसंस्थासंग साझेदारीका लागि प्रस्ताव आह्वान गर्न लागिएको छ ।

मानुङकोटको मौलिकता संरक्षण गर्न तत्काल गुरुयोजना र खानेपानी विस्तृत परियोजना निर्माण गरिनेछ । उनले भने, “मानुङकोटमा दैनिक तीन सय मात्र पर्यटकलाई दृश्यवलोकनका लागि प्रवेश व्यवस्था मिलाइएको छ ।”

त्यसैगरी कात्तिक २५ गतेदेखि पर्यटकको अनिवार्य रुपमा नाम दर्ता गरी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गराएर मात्रै मानुङकोट प्रवेश गराउन थालिएको छ ।

केही दिनअघि मानुङकोट घुम्न आएका आन्तरिक पर्यटकमध्ये एक जना सुतिरहेका अवस्थामा र एक जनाको माइक्रो बस दुर्घटना परी मृत्यु भएपछि सुरक्षा व्यवस्थालाई कडाइ गर्न लागिएको हो ।

उक्त स्थानमा सुरक्षाका दृष्टिले प्रहरीचौकी आवश्यक देखिएकाले जिल्ला प्रशासन कार्यालयबाट सिफारिस गरी सम्बन्धित निकायमा पठाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

प्रकाशित मिति: Nov 24, 2020

प्रतिक्रिया दिनुहोस्