Logo
१२ श्रावण २०८१, शनिबार
(November 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव’ लाई खोज्न गाउँगाउँमा सेनासहितको ‘सुरक्षा फोर्स’ परिचालन !

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्याकर्ता खोज्न पहाडी जिल्ला रोल्पा, रुकुम, दाङ, कपिलवस्तु, अर्घाखाँची लगाएका जिल्लामा संयुक्त सुरक्षा फौज परिचालन भएको छ।

विप्लवको जन्मथलो रोल्पामा सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। झन्डै एक दर्जनजति सवारीसाधनले लिवाङ क्षेत्रमा संयुक्त गस्ती गरेर फर्किएको स्थानीयले बताए। ‘नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको संयुक्त सुरक्षाकर्मीको टोली सर्च गर्न आउँछन्,’ एक स्थानीयले भने।

उनले सुरक्षाकर्मीले विप्लव र विप्लवका कार्यकर्ता खोज्न आएको भन्दै टोलीले सर्वसाधारणलाई सोधपुछ गरिरहेको बताए। त्यस्तै, हाल उनको घर रहेको कपिलवस्तु जिल्लामा पनि संयुक्त सुरक्षाकर्मी परिचानल गरिएको छ।

ती ठाउँमा दाङबाट समेत सुरक्षाकर्मी परिचालन गरिएको एक प्रहरी अधिकारीले बताए। ‘दाङ र आसपासका जिल्लाहरूबाट मिलाएर संयुक्त सुरक्षाकर्मी परिचालन गरिएको छ,’ ती प्रहरी अधिकारीले भने, ‘अहिले विप्लवको आवातजावत यतैतिर बढेको भन्ने सूचना प्रहरीलाई छ।’

विप्लवले सात वर्ष पहिले दाङको तुलसीपुरमै भेला आयोजना गरी नयाँ पार्टीको निर्माणको घोषणा गरेका थिए। वर्षगाँठ मनाइरहेका बेला विप्लव समूहको क्रियाकलाप निस्तेज पार्न संयुक्त गस्ती गर्नु परेको अर्का एक प्रहरी अधिकारीले बताए।

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी रविन्द्र धानुकले पनि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा संयुक्त गस्ती भइरहेको पुष्टि गरे।

उनले यसलाई नियमित प्रक्रिया भएको बताए। तर, पछिल्लो समय निर्वाचनको समयबाहेक यसरी संयुक्त सुरक्षा फौज परिचालन भएको थिएन। संयुक्त सुरक्षाकर्मी परिचालन हुनुलाई विप्लवनिकटका व्यक्तिहरूले भने सरकारले हिंसाको बाटो अंगाल्न खोजेको टिप्पणी गरे।

प्रकाशित मिति: Nov 24, 2020

प्रतिक्रिया दिनुहोस्