Logo
१२ श्रावण २०८१, शनिबार
(November 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीमा दाबी गर्नेको संख्या बढेपछि संक्रमितको नाम रुजु

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा(इडिसिडी)ले कोभिड–१९ को बीमा दाबी गर्नेको सङ्ख्या बढेपछि रुजु गर्न थालेको छ ।

यसका लागि महाशाखाले वरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी रुजु गर्न शुरुआत गरेको हो ।

बीमा समितिसँग समन्वय गरेर इडिसिडीले रुजु गरिरहेको उनले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ५३० जना कोभिड–१९ सङ्क्रमित व्यक्तिको बीमाका लागि रुजु गरिसकेको छ ।

रुजु गर्ने क्रममा १५ प्रतिशतको विवरण नमिलेको जनाइएको छ । समितिले इडिसिडीमा प्राप्त विवरण र प्रयोगशालाले पठाएको विवरणबीच रुजु गरिरहेको छ ।

“सङ्क्रमित हो वा होइन भनेर दुवैबाट प्राप्त विवरणलाई रुजु गर्ने गर्दछौँ”, समितिका संयोजक अधिकारीले भने, “ दुवैमा मिलेपछि मात्र हामीले बीमाका लागि सिफारिस गर्दछौँ ।”

समितिले रुजु गरिसकेपछि मात्र बीमाबापतको रकम पाउनेछन् । उक्त समितिले नाम, उमेर र ठेगाना रुजु गर्ने गर्दछ । विसं २०७७ भदौ २८ अगाडि बीमा गरेका कोभिड-१९ को सङ्क्रमित ५० हजार र एक लाख बीमा तथा भदौ २९ गतेपछि बीमा गरेकाले २५ हजार र ७५ हजार रुपैयाँ पाउने गर्दछन् ।

बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले गलत रिपोर्ट लिएर बीमा दाबी गर्न थालेपछि रुजु गर्न थालिएको बताए ।

उनका अनुसार अहिलेसम्म करिब २५ हजार जनाले बीमा दाबी गरेका छन् । अहिलेसम्म नेपालमा दुई लाख २० हजार ३०८ जना कोरोना भएका छन् ।

यस्तै एक लाख ९९ हजार २४ जना निको र एक हजार ३२१ जना संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: Nov 23, 2020

प्रतिक्रिया दिनुहोस्