Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको सचिवालय समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुदै गयो : विष्णु पौडेल

नेकपाका महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको बताएका छ ।

पार्टीको ‘कोर अफ दी लिडरसीप’का रुपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्नेभन्दा समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको पौडेलको भनाइ छ ।

बिहीबार ‘न्यूज एजेन्सी नेपाल’सँगको कुराकानीमा महासचिव पौडेलले सचिवालयले आफ्नो समीक्षा गर्दै भूमिका परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए ।

पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सही दिशामा लैजानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा सचिवालयले त्यस्तो गर्न नसकेको पनि उनले बताए । ।

‘पछिल्लो समय समस्या समाधानको थलो नभएर समस्या सिर्जना गर्ने भूमिकामा सचिवालय परिवर्तन भएको छ । त्यसैले सचिवालयले आफ्नो भूमिका बदल्नुपर्ने आवश्यकता मैले देख्छु’ उनले भने, ‘यदि, पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधानका लागि, राष्ट्रिय राजनीतिलाई सही दिशामा दिशाबोध गराउनका लागि सक्षम, प्रभावकारी, नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वाभाविकरुपमा सचिवालयको वैधता र औचित्यमाथि प्रश्न खडा हुन्छ ।’

महासचिव पौडेलले आफ्नो अभिभारा सही ढंगले पूरा गर्न नसक्ने अवस्था आएको भए सामूहिकरुपमा जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने पनि बताए ।

उनले भने–‘यदि, हामी यो ढंगले भूमिका निर्वाह गर्न असक्षम र नसक्ने भएका हौं भने स्थायी कमिटीका सदस्यसमक्ष भनौं–‘हामीले यतिमात्रै गर्न सक्यौं, योभन्दा बढी गर्न नसक्ने भयौं, हाम्रो अभिभारा ठिक ढंगले पूरा गर्न नसक्ने भयौं, त्यसैले तपाइँहरु जिम्मेवारी सम्हाल्नका लागि तयार हुनोस्, हामी पदमुक्त हुन्छौं ।’

बुधबार हिजोको सचिवालय बैठकमा समेत जिम्मेवारी ठिक ढंगले निर्वाह गर्न नसक्ने अवस्थामा स्थायी कमिटीलाई बाटो छोड्नुपर्ने धारणा आफूले राखेको उनले बताए ।

पार्टी आन्तरिक जीवनमा गम्भीर, जटिल र संकटग्रस्त भएको उल्लेख गर्दै उनले जनता र नेता–कार्यकर्ताहरुले नचाहेका अपेक्षित घटनाहरु घटिरहेको बताए ।

 

प्रकाशित मिति: Nov 19, 2020

प्रतिक्रिया दिनुहोस्