Logo
११ श्रावण २०८१, शुक्रबार
(November 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले बनाए आफूलाई आजीवन मुद्दा नलाग्ने कानून

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफूलाई जिवित रहुञ्जेल कसैले पनि मुद्दा लगाउन नसक्ने कानून बनाएका छन् ।

आफ्नो पकड रहेको रुसी संसद डूमाबाट उनले आफूलाई जिवित रहुञ्जेल कसैले पनि मुद्दा लगाउन नसक्ने कानून पारित गराएका हुन् ।

रुसी तल्लो संसदबाट पारित गरिएको यो कानून अनुसार अब पुटिन र उनको परिवारमाथि राष्ट्रपतिबाट बाहिर रहँदा पनि कुनैपनि प्रकारको आपराधिक मुद्दा चलाउन पाइने छैन ।

गत जुलाईमा गरिएको जनमत संग्रहले अनुमति दिएअनुसारकै यो कानून बनाइएको बताइएको छ । रुसको दुबै सदनमा पुटिनकै बहुमत रहेको छ ।

पुटिनको वर्तमान कार्यकाल सन् २०२४ मा सकिने भएपनि उनले चाहँदा अरु दुई कार्यकाल अर्थात् १२ वर्ष (सन् २०३६ सम्म) बिना रोकतोक राष्ट्रपति पदमा रहिरहन संवैधानिक व्यवस्था पनि उनले गरासकेका छन् ।

पुटिनका तीब्र आलोचक मानिने एलेक्सी नाभल्नी (जसलाई विष दिएर हत्या गर्ने प्रयास गरिएको थियो) ले यो कानून बनेलगत्तै पुटिनलाई तानाशाहको संज्ञा दिएका छन् ।

उनले के तानाशाह जब मनले चाह्यो तब पद छाड्न सक्दछन् ? भन्दै प्रश्न पनि गरेका छन् ।उनका विपक्षीहरुले पुटिनले शक्तिको दुरुपयोग गरेर सत्तामा निरन्तरता दिइरहेको, विपक्षीहरुलाई निर्वाचनमा भाग लिनसमेत नदिएको जस्तो आरोप लगाइरहेका छन् ।

पुटिनको यूनाइटेड रसिया पार्टीको दुबै सदनमा बुहमत रहे पनि ३७ विपक्षी वामपन्थी सांसदले विधेयकको विपक्षमा मत दिएका थिए ।

सन् २००० देखि लगातार रुसी सत्तामा रहेका पुटिनले सत्ता बाहिर रहँदा आफूलाई कुनै पनि आपराधिक कार्यसँग जोडेर मुद्दा लगाउन नपाउने कानूनी व्यवस्था किन गरे भन्ने प्रश्न भने उब्जिएको छ ।

 

प्रकाशित मिति: Nov 18, 2020

प्रतिक्रिया दिनुहोस्