Logo
१२ बैशाख २०८१, बुधबार
(November 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहानैदेखि डोल्पामा हिमपात, चिसोको कारण जनजीवन कष्टकर

कर्णाली प्रदेश स्थित डोल्पामा बिहानैदेखि हिमपात भएको छ । आज बिहानैदेखि परेको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ ।

भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाको विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको हो ।

हिउँ परेपछि डोल्पामा चिसो अत्याधिक बढेको स्थानीयवासी बताउँछन् ।माथिल्लो डोल्पास्थित शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा पर्ने फोक्सुण्डो, साल्दाङ्ग, धो, तिन्जे, छार्का, मुकोटलगायत बस्तीहरुमा आइतबार रातिदेखि नै हिमपात शुरु भएको शे-फोक्सुण्डो गाउँपालिका-८ का वडाध्यक्ष निमा लामाले जानकारी दिए ।

हिमपातका कारण फोक्सुण्डो ताल आसपासमा दुई ईन्चसम्म हिउँ जमेको र अहिलेपनि निरन्तर रुपमा हिमपात भइरहेको उनको भनाइ छ ।

बाक्लो हिउँ जमेका कारण माथिल्लो डोल्पाका डाँडापाखा र विकट गाउँबस्तीहरु सेताम्मे भएका छन् । चौरी लिएर तल्लो डोल्पा आउने भोटवासी बाटैमा रहेकाले निकै अप्ठयारोमा परेको वडाध्यक्ष लामाको भनाइ छ ।

माथिल्लो डोल्पाका बासिन्दाले बौद्धधर्म मान्ने भएकाले तिहार भने मनाउँदैनन् ।त्यसैगरी तल्लो डोल्पामा पर्ने शहरतारा, दुनै, जुफाल, रह, त्रिपुराकोट, पहाडा, काइगँउ, रिमि, नर्कु, ल्हाँ, लिकुलगायत गाउँबस्तीमा बिहानैदेखि वर्षा शुरु भएको छ ।

भने बलाङ्ग्रा, मुकोट, कागमारालगायत अग्ला स्थानमा बाक्लो हिउँ परेको छ । वर्षासँगै परेको हिमपातका कारण अत्यधिक चिसो बढ्दा भाइटीका पर्वसमेत प्रभावित भएको त्रिपुरासुन्दरी नगरपालिका-१ का दिलबहादुर बिष्टले जानकारी दिए ।

प्रकाशित मिति: Nov 16, 2020

प्रतिक्रिया दिनुहोस्