Logo
१२ श्रावण २०८१, शनिबार
(November 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाइडेनको कार्यकालमा रक्षामन्त्रीमा महिलाले अवसर पाउने सम्भावना बढ्यो

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति-निर्वाचित जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने सम्भावना रहेको छ ।

अमेरिकी रक्षामन्त्रीमा हालसम्म कुनै पनि महिलाले अवसर पाएका छैनन् ।रक्षा मन्त्रालय मातहतका निकायमा रहेर काम गरिसकेकी मिसेल फ्लोरनोएले यस्तो दुर्लभ अवसर प्राप्त गर्न लागेको बाइडेन निकटका व्यक्तिहरुले बताएका छन् ।

राजनीतिक रुपमा मध्यमार्गी धारकी भनेर चिनिएकी मिसेल बाइडेनको पहिलो रोजाईमा रहने बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षे कार्याकालमा पाँच जना रक्षामन्त्री फेरिइसकेका छन् । पछिल्लो पटक रक्षामन्त्री मार्क एस्परलाई राष्ट्रपति ट्रम्पले चुनाव सकिएलगत्तै गत सोमबार बर्खास्त गरेका छनु, र अहिले उक्त पद रिक्त छ ।

रक्षामन्त्री एस्परले विदेशबाट अमेरिकी सेना फिर्ता गर्ने तथा अमेरिकामा भएका कतिपय विरोध प्रदर्शनमा सेना परिचालन गर्ने विषयमा राष्ट्रपति ट्रम्पसँग विमती राख्दै आएका थिए ।

डेमोक्रेट पार्टीले विगतदेखि नै मुलुकका रक्षा मन्त्रालय समेतका महत्वपूर्ण पदहरुमा महिलालाई पनि अवसर दिनुपर्ने भन्दै वकालत गरिरहेको छ ।

यसअघि सन् २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपतिमा विजयी भएको भए मिसेललाई नै रक्षा मन्त्रालयको कार्यभार दिइने चर्चा थियो ।

अहिले फेरि मिसेलको नाम अग्रस्थानमा छ  ।उनान्साठी वर्षीया मिसेलले विदेशमा अमेरिकी सैनिक सहयोगलाई अझ सुदृढ गर्नुपर्ने दृष्टिकोण राख्दै आएकी छन् ।

उनले सन् २००९ देखि २०१२ सम्म अमेरिकी रक्षा नीतिसम्बन्धी उपमन्त्रीको जिम्मेवारी समालेकी थिइन् ।

अमेरिकी सिनेटमा रिपब्लीकन र डेमोक्रेट दुवैले मिसेलको नामलाई सहजै अनुमोदन गर्ने सम्भावना रहेको छ ।

तर कतिपयले गृह विभागका पूर्व प्रमुख जे जोन्सन पनि रक्षामन्त्रीका लागि सम्भावित उम्मेदवार रहेको बताइरहेका छन् ।

तर बाइडेनले यसअघि चुनावी प्रचारका क्रममा महिलालाई विशेष अवसर र प्राथमिकता दिने बताइरहकाले पनि मिसेल नै रक्षामन्त्री हुने सम्भावना बढी छ ।

प्रकाशित मिति: Nov 15, 2020

प्रतिक्रिया दिनुहोस्