Logo
१२ श्रावण २०८१, शनिबार
(November 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समृद्ध र सुखी नेपालको राष्ट्रिय आकाङ्क्षा एकतामार्फत् नै पूरा हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत् ११४१ का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै एकतामार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताए्का छन् ।

उनले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै यहाँका विविधतायुक्त मौलिक परम्परा सिङ्गो राष्ट्रका साझा पुँजीका रूपमा अङ्कित रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वानसमेत गरेका छन् ।

जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत देशलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिङ्गो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको छ सन्देशमा ओलीले भने।

‘एकताको यस राष्ट्रिय पुँजीलाई हामीले देश निर्माणको आधारस्तम्भका रुपमा आत्मसात् गरेका छौँ’, उनले सन्देशमा भनेका छन्, ‘हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरूलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौँ ।’

नेपाल सम्वतको यस अवसरमा प्रधानमन्त्री ओलीले काठमाण्डौ उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्तका प्रवर्तक शङ्खधर साख्वाःको विशेष स्मरण गरेका छन् ।

शङ्खधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणलाई ऋणबाट मुक्त बनाइ स्वतन्त्रता दिलाएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्वतका रूपमा मनाइँदै आइएको छ ।

प्रकाशित मिति: Nov 15, 2020

प्रतिक्रिया दिनुहोस्