Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहलाई अझै प्रभावकारी बनाऔँ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय व्यवस्थाको सफल कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएकाले ती तहले अझै प्रभावकारीरूपमा काम गर्नुपर्ने बताएका छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज आयोजना गरेको ‘गाउँपालिकाका असल अभ्यासको सँगालो’ पुस्तकको भर्चुअलरूपमा लोकार्पण गर्दै उपप्रधानमन्त्री पोखरेलले सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यले मात्र देशको समृद्धि र विकास सम्भव हुने स्पष्ट गरे ।

उनले स्थानीय सरकारलाई केन्द्र सरकारका तर्फबाट हुनुपर्ने साथ र सहयोग सधैँ रहने पनि स्पष्ट गरे । कोरोना महामारीको रोकथाम र उपचारका लागि स्थानीय तहले गरेका कामको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा पनि गरे।

सो अवसरमा नेकपाका स्थायी कमिटी सदस्य गोकर्णराज विष्टले निर्वाचनका समयमा जनतामाझ गरिएका वाचा पूरा गर्न जनप्रतिनिधिले गरेको सकारात्मक अभ्यासको प्रचारप्रसार हुनुपर्ने बताए ।

नेपाली काँगे्रसका केन्द्रीय सदस्य गगनकुमार थापाले स्थानीय तहले गरेका राम्रा कामले गर्दा वर्तमान समयमा जनताले नजिकबाट सरकार भएको अनुभूति गरेको धारणा राखे ।

महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले उक्त पुस्तकले स्थानीय तहको आवश्यकता र महत्वबारे थप स्पष्ट पारेको जनाए ।

पुस्तकमा पाँच विषयगत क्षेत्रमा समावेश गरिएको छ, जसमा ‘संस्थागत सुदृढीकरण, सेवा प्रवाह र अन्तरसरकार समन्वय’, ‘भौतिक विकास’, ‘सामाजिक विकास’, ‘आर्थिक विकास’ र ‘वन वातावरण तथा विपत् व्यवस्थापन’ छन् ।

मुलुकभरका ६६ जिल्लाका गाउँपालिका पुस्तकमा समेटीएका छन् । प्रदेशगत रुपमा सबैभन्दा बढी वाग्मती प्रदेशका ६२, प्रदेश नं. १ का ३८, प्रदेश नं. २ का १९, लुम्बिनी प्रदेशका ३९, गण्डकी प्रदेशका ३१, कर्णाली प्रदेश २८ र सुदूरपश्चिम प्रदेश २६ वटा अभ्यासहरु पुस्तकमा समेटिएका छन् ।

प्रकाशित मिति: Nov 13, 2020

प्रतिक्रिया दिनुहोस्