Logo
१२ श्रावण २०८१, शनिबार
(November 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामग्री अभावले रोकियो गौशाला-चाबहिल सडक निर्माण

निर्माण सामग्री अभावका कारण गौशाला-चाबहिल सडक निर्माण अवरुद्ध हुन पुगेको छ ।

कात्तिक मसान्तसम्म कालोपत्रको योजना बनाइएको भए पनि गोदावरी नगरपालिकाको लेलेमा रहेका ढुङ्गाखानी तत्कालका लागि बन्द हुँदा सडक निर्माण गर्न नसकिएको हो ।

निर्माण सामग्री उपलब्ध हुँदा हिजोआज नै सम्पन्न भइसक्ने भए पनि अभाव हुँदा काम रोकिएको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताए ।

उनका अनुसार लेलेस्थित ढुङ्गा रोडा उद्योगमा आवश्यक सामग्री तयारी भइसकेको थियो । ती सामग्री ल्याउन प्रयास गरिए पनि प्रशासनले रोक लगाएका कारण ल्याउन सकिएको छैन । उनले भने, “कानूनी रुपमा नै रोकिएकाले हामीले जोड गर्न पनि मिलेन ।”

जिल्ला प्रशासन कार्यालय ललितपुरले यही कात्तिक ४ गते निर्णय गरेर मापण्ड विपरीत सञ्चालित नदीजन्य तथा खानीजन्य उत्खनन, ओसारपसार तथा बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र ललितपुरका जनप्रतिनिधिसम्मिलित बैठकले अर्को सूचना नभएसम्मका लागि ती उद्योगमा रोक लगाएको थियो ।

ललितपुरका लेले, नल्लुलगायत क्षेत्रबाट नै काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा सडकलगायत पूर्वाधार निर्माणका लागि आवश्यक ढुङ्गा, गिट्टीलगायत सामग्री आउने गरेको थियो ।

सडक निर्माण सम्पन्न गर्न अरु स्थानबाट सामग्री ल्याउन सकिने भए पनि त्यसका लागि थप समय लाग्ने प्रमुख नेपालीले बताए ।

उनका अनुसार आवश्यक मात्रामा निर्माण सामग्री तयार गर्न कम्तीमा पनि दुई साता लाग्छ । उनले भने, “आवश्यक मात्रामा एउटै क्रसरबाट नहुँदा धेरैमा भन्नुपर्ने पनि हुन सक्छ ।”

सो सडक सम्पन्न गर्न तोकिएको अवधि आगामी पुससम्म छ । अवधि अझै बाँकी रहे पनि स्थानीयवासीले दुःख पाइरहेकाले दशैँतिहारलगायत चाडपर्वअघि नै सम्पन्न गर्ने डिभिजनको लक्ष्य थियो ।

उनले भने, “कानूनी रुपमा समयावधिभन्दा पनि हामीले गरेको प्रतिबद्धतानअनुसार गर्न सकिँदैन भन्ने हाम्रो चिन्ता छ ।”
कार्यालयले निर्माणको काम गरिरहेको पुतलीसडकबाट ज्ञानेश्वर हुँदै कमलपोखरीसम्मको सडक निर्माण पनि निर्माण सामग्री अभावकै कारण अवरुद्ध छ ।

सडक निर्माण भइरहेकै समयमा निर्माण सामग्री नहुँदा काम बीचैमा अलपत्र भएको देखिन्छ । गौशाला-चाबहिल सडक बढी सवारीसाधनको चाप रहेको उपत्यकाको सडकमध्ये एक हो ।

सत्ताइस दशमलव दुई किमी लम्बाइको चक्रपथको पहिलो खण्डका रुपमा कोटेश्वरदेखि कलङ्की चीन सरकारले विस्तार गरिसकेको छ ।

दोस्रो खण्डका रुपमा कलङ्कीदेखि धोबीखोला ९गोपीकृष्ण चलचित्रघरसँगैसम्म० को सडक विस्तारका लागि सरकारले निर्माणस्थल खाली गरिरहेको छ ।

धोबीखोलादेखि गौशालासम्मको खण्ड भने कार्यालयले निर्माण गरिरहेको छ । सुन्दरीजलबाट काठमाडौँका विभिन्न स्थानमा जाने पानीको मूल पाइप यही सडक भएर आउँछ ।

राणाकालमा बिच्छाइएको पाइप पुरानो भएकाले खिइँदै पानी बाहिर निस्किरहँदा यहाँको सडक बिग्रिरहेको थियो ।

एक दशकयता पटकपटक मर्मत भए पनि पुराना पाइपकै कारण सडकमा कालोपत्र उप्कने, खाल्डो हुने र धुलोका कारण स्थानीयवासी हैरान थिए ।

विसं २०६८ मा सडक विस्तारका क्रममा खानेपानीको पाइप सडकका बीच भागमा राखिएपछि सो समस्या बढेको थियो ।
खानेपानी र सडक पहिले एउटै मन्त्रालयअन्तर्गत भए पनि केही वर्ष पहिलेदेखि फरकफरक मन्त्रालयले हेर्ने र मन्त्रालयबीच आवश्यक समन्वय नहुँदा यहाँको सडकको समस्या दीर्घकालीन समाधान हुन सकेको थिएन ।

अहिले भने डिभिजन कार्यालय र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले समन्वय गरेर खानेपानी र सडक एउटै ठेक्काबाट काम शुरु भएको थियो ।

कालिका र बेदान्सी जेभीले आगामी पुसम्ममा सम्पन्न गर्ने गरी ठेक्का पाएका थिए । सो सडकखण्डमा पाइप व्यवस्थापनकै काम पहिले भएको थियो ।

यहाँ रहेका टुटेफुटेका पाइप हटाउँदै नयाँ फेरिएको थियो । गौशालादेख चाबहिल, चाबहिलदेखि चुच्चेपाटी र चाबहिलदेखि गोपीकृष्ण हल सडकखण्डको सडकको लम्बाइ झण्डै साढे दुई किमी छ ।

प्रकाशित मिति: Nov 13, 2020

प्रतिक्रिया दिनुहोस्