Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडी बस दुर्घटनामा मृत्यु भएका नौ मध्ये पाँच जनाको पहिचान खुल्यो

सुदूरपश्चिम प्रदेश स्थित बैतडीको खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएका मध्ये ५ जनाको नाम खुलेको छ ।

गएराति १० बजे भएको दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् ।मृतकमध्ये पाँच जनाको नाम मात्रै खुलेको छ । बैतडीको दोगडाकेदार-६ का प्रहरी जवान रणवहादुर चन्दको परिचय पत्रका आधारमा सनाखत भएको छ ।

त्यसैगरी नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल वडु र तारा गिरीको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् ।

घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी पठाइएको छ ।बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिएको छ भने एक जनाको शव बसबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले पुष्टि गरेको छ ।

साँघुरो सडकमा रहेको सानो घुम्तीबाट बस ६०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।प्रहरी र स्थानीयबासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो । बस बैतडीको दोगडाकेदार-७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ ।

बसधनी आफैं चालक रहेका र उनीसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Nov 13, 2020

प्रतिक्रिया दिनुहोस्