Logo
१२ श्रावण २०८१, शनिबार
(November 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा सचिवालय बैठक : कात्तिक २७ गते डाक्न ओलीलाई प्रचण्ड समूहको प्रस्ताव

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको सचिवालय बैठक सकिएको छ।

आज अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा बसेको प्रचण्डसहित पाँच सचिवालय सदस्य उपस्थित अनौपचारिक बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ‌ओलीले कात्तिक २७ गते सचिवालय बैठक राख्ने आशा गरेको छ।

‘भोलि प्रधानमन्त्री उपत्यकाबाहिर जाने कार्यक्रम रहेछ। पर्सि कात्तिक २७ गते प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्षले सचिवालय बैठक राख्नुहुन्छ भन्ने आशा छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग भने।

प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले सचिवालय बैठक राख्न लिखित रूपमै अध्यक्ष ओलीसँग माग गरेका थिए।

आज बैठक बस्नुअघि प्रचण्डले ओलीसँग भेटेका थिए।

‘कार्यकारी अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीलाई भेटेर पर्सि २७ गते सचिवालय बैठक बस्नुपर्छ भन्नुभएको छ,’ श्रेष्ठले भने, ‘बैठक बस्न प्रचण्डले अनुरोध गर्नुभएको छ। अध्यक्ष ओलीले २७ गते बैठक बस्न पनि सहमति जनाइसक्नु भएको छैन। हामी अपेक्षा गर्छौं कि प्रचण्डले प्रस्ताव गरेअनुसार पर्सि बैठक बस्ने कुरामा अध्यक्ष ओलीले सहमतिकै आधारमा सचिवालय बैठक राख्नु हुनेछ।’

आज बैठक अनौपचारिक रूपमा बसेको श्रेष्ठको भनाइ छ। सहमतिमै सचिवालय बैठक बस्न आफूहरूले प्रयत्न गरिरहेको श्रेष्ठले बताएका छन्।

‘हामीले आशा गरेका छौं पर्सि बैठक बस्नेछ,’ उनले भने, ‘बैठक बसेन भने के गर्ने भन्ने अहिले नै केही तय छैन। पर्सि बैठक बस्छ भनेर आज अनौपचारिक बैठक सकियो।’

प्रकाशित मिति: Nov 10, 2020

प्रतिक्रिया दिनुहोस्