Logo
२४ बैशाख २०८१, सोमबार
(November 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली फौजले अङ्ग्रेजलाई हराएको सम्झनामा सिन्धुलीगढी विजयोत्सव मनाइँदै

बागमती प्रदेश स्थित सिन्धुलीको कमलामाई नगरपालिकाले आज सिन्धुलीगढीमा विजयोत्सव मनाउने भएको छ ।

विसं १८२४ कात्तिक २४ गते नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको सम्झनामा नगरपालिकाले विजयोत्सव मनाउने गरेको हो ।

नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले कोरोनाको सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिन्धुलीगढी विजयोत्सव भव्यताका साथ नमनाइने जानकारी दिए ।

नेपालीहरुको गौरवको किल्ला सिन्धुलीगढीमा हरेक कात्तिक २४ गते मनाइँदै आएको विजयोत्सवलाई सामान्य ढङ्गबाट मनाइने उनको भनाइ छ ।

विगतमा भव्यरूपमा मनाइने विजयोत्सवमा यस वर्ष भने कसैलाई पनि निमन्त्रणा नगरिएको उनले जानकारी दिए । यही अवसर पारेर आज नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

सिन्धुलीगढी नेपालीहरुले अङ्ग्रेज फौजलाई परास्त गर्दै विजय हासिल गरेको एक मात्र किल्ला भएको हुँदा यस दिन गढीमा जान चाहनेका लागि भने कसैलाई रोक नलगाइएको उनको भनाइ छ ।

नेपाल सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन जारी गरेका निर्देशनहरुको पालना गर्दै सुरक्षित तरिकाले गढीको अवलोकन गर्न पाइने उनले जानकारी दिए ।

नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु बोलाई र्याली, झाँकीसहित गरिने औपचारिक कुनै पनि कार्यक्रम नगरिने नगर प्रमुख खत्रीले बताए ।

यसपटक विजयोत्सवमा नगर प्रमुख खत्रीले झण्डोत्तोलन गर्ने र नेपाली सेनाले सलामी दिने कार्यक्रम तय भएको नगरपालिकाले जनाएको छ ।

विस। २०६७ मा नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले सिन्धुलीगढी विजय दिवस मनाउन शुरु गरेको थियो । सिन्धुलीगढीको इतिहास लोप हुन थालेको भन्दै महासङघले प्रचारप्रसारका लागि उक्त दिवस मनाउन शुरु गरेकोे थियो । त्यसपछिका वर्षमा तत्कालीन जिल्ला विकास समितिको आयोजनामा विजय दिवस मनाउन थालिएको थियो । स्थानीय तहको निर्वाचनपछि कमलामाई नगरपालिकाले विजयोत्सवको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति: Nov 9, 2020

प्रतिक्रिया दिनुहोस्