Logo
१२ श्रावण २०८१, शनिबार
(November 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा ओलीसँग जंगिए नेपाल ! पार्टी एकता जोगाउन ठोस प्रस्ताव माग

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ नेता माधवकुमार नेपालले संकटमा परेको पार्टी एकतालाई बचाउन ठोस प्रस्ताव मागेका छन् ।

छलफलका लागि बोलाएपछि निकट नेता लिएर आइतबार दिउँसो बालुवाटार पुगेका वरिष्ठ नेता नेपालले पार्टी एकता बचाउन ओलीसँग आग्रह पनि गरेका छन् ।

छलफलमा प्रधानमन्त्री ओलीले पार्टी एकता संकटमा रहेको भन्दै एकता जोगाउने भूमिका खेल्न नेता नेपाललाई आग्रह गरेका थिए ।

छलफलमा सहभागी स्थायी कमिटी सदस्य रघुजी पन्तका अनुसार नेता नेपालले पार्टीमा देखिएको समस्या समाधानका लागि ओलीसँग प्रस्ताव मागेको जानकारी दिए । नेता नेपालले अहिलेको संकट हल गर्ने विधि र प्रस्ताव के हो ? भनेर प्रधानमन्त्री ओलीसँग प्रस्ताव मागे पनि स्पष्ट जवाफ नदिएको नेताहरुले बताएका छन् ।

नेता नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री भएको हुँदा एकता जोगाउन ओलीको मुख्य भूमिका हुने बताएका थिए । ‘हामीले पार्टी एकता अप्ठ्यारो ठाउँमा आइपुगेको छ भन्दा उहाँ (ओली) ले हो अप्ठ्यारो ठाउँमा छ भन्नु भयो । फुट्न दिनुहुन्न हामीले भन्यौं । उहाँले पनि फुट्न दिनुहुन्न नै भन्नु भयो,’ नेता पन्तले भने ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको अर्को दिन प्रधाममन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई संवादका लागि बोलाएका थिए ।

ओलीले एक्लै बोलाए पनि नेता नेपालले एक्लै संवादमा नबस्ने भन्दै आफू निकट स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डे र पन्तलाई साथमा लिएर गएका थिए ।

अहिलेको समस्याको निकास बैठक भएकाले त्यसबाट मात्रै समस्याको समाधान खोज्न नेता नेपालको आग्रह थियो । ‘प्रधानमन्त्री पनि तपाईं हुनुहुन्छ, पार्टी अध्यक्ष पनि तपाईं हुनुहुन्छ ।

फुट्न दिने नदिने भन्ने कुरा धेरै तपाईंमा भर पर्छ । तपाईं लचिलो भएर भूमिका खेल्नु पर्‍यो । पार्टी बैठक नियमित राख्नु पर्‍यो हामीले भन्यौं,’ नेता पन्तले भने ।

बालुवाटारमा भएको तीन घण्टा लामो छलफलमा नेता रावलले पार्टीभित्र उत्पन्न समस्याका विषयकेन्द्रित भएको कुनै निर्णय वा सहमति नभएको बताए ।

‘पार्टीभित्र उत्पन्न जुन समस्या छ, त्यसमा नै छलफल भयो । यो बीचका घटनाक्रम र देखिएका कुराहरुका सन्दर्भमा विचार आदानप्रदान गर्‍यौं। तत्‌सम्बन्धमा कुनै ठोस प्रस्ताव वा कुनै सहमति भने केही भएन,’ नेता रावलले भने ।

छलफलमा प्रधानमन्त्री ओलीले पार्टी फुटको खतरा बढेको निष्कर्ष सुनाएका थिए । तर पनि प्रधानमन्त्री ओली बैठक राख्नेबारे सहमत नभएको पनि नेता पन्तले बताए ।

‘विहारमा चुनाव भइरहेको छ, अमेरिकामा चुनाव भइरहेको छ । हाम्रो केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भन्ने हुँदैन । बरु त्यसको लागि तयारीहरु आवश्यक छ भने गरौं हामीले भन्यौं’, पन्तले भने ‘बैठक राखौंला नि मात्रै भन्नु भयो । कहिले राख्ने, के गर्ने भन्ने त्यस्तो केही भन्नु भएन ।’

प्रकाशित मिति: Nov 8, 2020

प्रतिक्रिया दिनुहोस्