Logo
१२ श्रावण २०८१, शनिबार
(November 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज

अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

राष्ट्रपतिका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो ।

पूर्व उपराष्ट्रपति जो वाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतगणनामा लगातार पछाडि पारिरहेका छन् । अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ ।

निर्वाचनमा धाँधली भएको आरोप लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतबाट मागेको सहारा पनि पाउन असफल भएका छन् । मतगणना तत्काल रोक्न माग गर्दै उनले संघीय अदालतमा दिएका उजुरीहरु अदालतले खारेज गरिदिएका छन् ।

ट्रम्पले आफ्नो मतान्तर कम भएका वा बाइडेनले अग्रता लिएका राज्यहरूमा धाँधली र चुनावी अनियमितता भएको आरोप लगाएका हुन् ।

बाइडेन झिनो मतले अगाडि रहेको नेभाडा राज्यमा यसअघिसम्म ट्रम्पको पक्षमा मत आउने आशामा उनका समर्थकहरूले मतगणना रोक्ने माग गरेका थिएनन् ।

ट्रम्पले विस्कन्सिन, मिचिगन, पेन्सिल्भेनिया र जोर्जिआ राज्यहरूमा मतगणनालाई कानुनी चुनौती दिँदै उजुरी दिएका हन् । उनले लगाएको आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्वारा दर्ता गरिएको उजुरी खारेज गरिएको अदालतले जनाएको छ ।

जोर्जिआमा ढिलोगरी आएका ५३ वटा मतपेटिकालाई नोभेम्बर ३ मा भएको निर्वाचनको मतपेटिकासँग मिसाइएको दावीसहित मुद्दा दायर भएको थियो ।

मिचिगनमा भने मतगणना रोक्न माग गर्दै मत गन्तीको प्रकृयामा पहुँचको माग गरिएको थियो ।राष्ट्रपति ट्रम्पले पेन्सिल्भेनियामा मतगणना रोक्न गरेको कानुनी अनुरोधलाई पनि अस्वीकार गरिएको छ ।

राज्यका अधिकारीहरूले रिपब्लिकनलाई मतगणना निरीक्षण गर्न दिइएको बताउँदै एक जना प्रतिनिधिले सामाजिक दूरीको नियम पालना नगरेको बताएका थिए ।

ती राज्यका न्यायाधीशले उजुरी खारेज गरिदिएको र मतगणना रोक्न आवश्यक नभएको फैसला सुनाएका थिए । अदालतले उजुरी खारेज गरिदिएपछि राष्ट्रपति ट्रम्पलाई अर्को धक्का भएको छ ।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले नेभाडाको मतदानमा पनि धाँधली भएको भन्दै उजुरी दर्ता गरेको छ । शुक्रबार दर्ता गरिएको उजुरी ट्रम्पको तर्फबाट अन्य राज्यमा दर्ता गरिएको जस्तै रहेको समाचारमा जनाइएको छ ।

प्रमाण नदिइएको सो मु्द्दामा क्लार्क काउन्टीमा हुलाकमार्फत् आएका मतपत्र जाँचमा अनियमिता र ३,००० भन्दा बढी फर्जी मतदान भएको दाबी गरिएको छ ।

अमेरिकामा अहिले मतगणना भइरहेका पेन्सिल्भेनिया, नेभाडा, एरिजोना, जोर्जिआ र नर्थ क्यारोलाइनामा स्पष्ट विजेता देखा परिसकेका छैनन् ।

पेन्सिल्भेनियामा मात्र जितेमा वा बाँकी चारमध्ये दुई वटामा मात्र जितेमा पनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनु हुने छ । ट्रम्पले जित्नका लागि भने पेन्सिल्भेनियासहित बाँकी चारमध्ये तीनवटा राज्यमा जित्नैपर्ने हुन्छ ।

यसअघि ट्रम्पको अग्रता पेन्सिल्भेनियामा खुम्चँदै थियो भने अब अर्को राज्य जोर्जिआमा पनि उस्तै स्थिति देखा परिरहेको छ ।अमेरिकामा अहिले मतगणना र मुद्धामामिला भइरहेका बेला दुवै उम्मेदवारले विभिन्न प्रतिक्रिया दिएका छन् ।

प्रतिस्पर्धामा रहेका वर्तमान राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गर्दै आएका भएको छ भने अर्का प्रतिस्पर्धी तथा पूर्व उपराष्ट्रपति जो बाइडेनले संयमित हुन सवैलाई आह्वान गरे ।

राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गरेपछि उनका समर्थक र विपक्षी दुवै पक्षले विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत पहिलो पटक राष्ट्रपति ट्रम्पले धारणा सार्वजनिक गर्ने क्रममा हुलाक मार्फत गरिएको मतदान एकतर्फी भएको दावी गरेका थिए ।

प्रकाशित मिति: Nov 6, 2020

प्रतिक्रिया दिनुहोस्